PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अस्मिता गौतम : जसको आवाज बनेको छ धेरैको साथी तर आफैंलाई लाग्छ आफ्नो कविता ‘सिल्ली’



लक्ष्मी बलायर

अस्मिता गौतम : जसको आवाज बनेको छ धेरैको साथी तर आफैंलाई लाग्छ आफ्नो कविता ‘सिल्ली’

साँझपख अस्मिता गौतम (बरी) को समय घरको छतमै बित्थ्यो। छतमा गएर निलो आकाश हेर्नु उनको दैनिकी। आकाश हेर्दै कहिले गुन्गुनाउने त कहिले टोल्याउने। एकदिन त्यही आकाशलाई हेर्दैँ कल्पन थालिन् अस्मिता। रंग बदलिरहेको आकाशसँगै उनले कविता कोर्न थालिन्:

तिमी र म यो आकाश जस्तै भइसक्यौ

हेर्दा एकअर्कालाई देख्छौँ तर

थाहा छैन कति टाढा …

+++

विद्यालयमा छँदा अस्मिताको नेपाली अक्षर राम्रो थिएन। कक्षा ८ मा पढ्दै गर्दा अक्षर नराम्रो भएकै कारण नेपाली शिक्षकले उनलाई सप्रसंग व्याख्या गर्न र पाठ पढेर सुनाउन लगाउँथे। वाचन गर्दा भने उनको व्याख्या शैली निकै फरक हुन्थ्यो। उनको सप्रसंग व्याख्या सुनेर साथीहरु तारिफ गर्थे। उनलाई कक्षामा पाठ पढाउने शिक्षकले नै एकदिन अस्मितालाई बोलाएर भने, 'तिम्रो लेखाई राम्रो छ। यो सामान्य सप्रसंग व्याख्याजस्तो छैन। तिमी धेरै पुस्तकहरु पढ्ने गर।'

शिक्षक र साथीहरुको हौसला कुराले आफूले लेख्न सक्ने अनुभुति भएको अस्मिता बताउँछिन्। विद्यालयको किताबसँगै अन्य पुस्तकहरु पढ्न थालिन् उनले। किताबको पढाईसँगै शब्दहरुसँग खेल्ने बानी पनि विकास भयो उनमा। कक्षा १० को परीक्षा दिएपछिको खाली समयमा उनले कविताहरु कोर्न सुरु गरिन्। स्पोकन पोयट्री, बटन पोयट्री र प्रिया मलिकका कविता उनका ‘फेभरेट’ थिए। तिनै कविताबाट प्रभावित उनले कवितामा खोज्न थालिन् आकाश र आफ्नो अस्तित्व।

'स्पोकन, बटन पोयट्री र प्रिया मलिक सुनेकी थिए। त्यही सुनाई मेरो लेखाईमा झल्किन थाल्यो। त्यसैले मेरो लेखाईमा कविताभन्दा पनि स्पोकन वर्डहरु बढी हुन्छन्,' उनी आफ्नो काव्य शैलीबारे भन्छिन्।

गोल्डेन गेटमा प्लस टु पढ्दै गर्दा एक अखबारमा उनको कविता छापियो। राष्ट्रिय पत्रिकामा कविता छापिएपछि दंग हुँदै उनले आफैँले आफैलाई भनिन् : साँच्चै म त राम्रो लेख्न सक्ने रहेछु।

युवा जोश र उत्साह। त्यसमाथि कविताको भूत चढेको बेला। पत्रिका छापिएपछि साथीहरुको नजरमा अस्मिता ‘कवि’ बनिन्। कविता प्रकाशित भएको पत्रिका उनका साथीहरुले किनेर राखेको उनले भुल्न सकेकी छैनन्। साथीहरुले दिएको ‘कवि’ ट्याग उनलाई मन पर्न थाल्यो। अनि शब्दहरुबाट कथा भन्न क्रम चलिरह्यो।   त्यसैको निरन्तरताले जन्मियो : सिल्ली सङ्स् एन्ड सटल पोयम्स।

सिल्ली सङ्स् एन्ड सटल पोयम्स, अस्मिताको युटयुब च्यानलको नाम हो। जसमा उनले आफूले लेखेका कविताहरु पढेर राख्ने गरेकी छिन्। कविता मनपराउने र युवाहरुमाझ उनको कविता भन्ने शैलीलाई धेरैले मनपराएका छन्।

युट्युबको यात्रा …

अस्मिताले कविता लेख्ने कुरा साथीहरुलाई थाहा थियो। साथीहरुले नै उनलाई युट्युब च्यानल खोलेर कविता वाचन गर्न सुझाए। यता घरमा कान्छा दाइ अर्जुनले पनि अस्मितालाई युट्युब च्यानल खोलेर कविता भन्न भनिरहन्थे। अस्मिताले भने पहिला साथी र दाइहरुको कुरा खासै मतलब गरिनन्। बहिनीको कविता मनपराउने दाइले बारम्बार युट्युबमा कविता पढेर राख्न भनिरहँदा एकदिन अस्मितालाई ‘झोंक चल्यो’। साथी र दाइको सल्लाहअनुसार उनले खोलिन् ‘सिल्ली सङ्स् एन्ड सटल पोयम्स’ नामक युटयुब च्यानल।

'दाइले नै गर्दा मैले यो युट्युब च्यानल खोलेकी हुँ। उहाँले नै सबै प्राविधिक कामहरु गरिदिनुहुन्थ्यो। भिडियो बनाउनेदेखि इडिटिङ् दाइले नै गर्नुहुन्छ' अस्मिताले आफ्नो युट्यब यात्राबारे सुनाइन्।

२०७६ साल फागुनको अन्तिमतिर युट्युब च्यानल सुरू भयो। युट्यबमा भिडियो बनाएर राख्न उनीसँग कविताको खडेरी थिएन। पहिलेदेखि नै ५० वटा कविता र कथाहरु थिए। त्यसैले लेखनभन्दा उनी वाचनतिर केन्द्रित हुन थालिन्। सुरुमा भिडियो पोयट्री बनाएर अपलोड गर्न उनको योजना थियो। तर जब क्यामरासामु उभिइन् उनी नर्भस भइन्। नर्भस अनुहार अनि कापेको आवाज उनलाई पटक्कै मन परेन। अनि त्यो भिडियो अपलोड गरिनन्।

'अरुलाई क्यामेरामा देख्दा सजिलो होला लाग्थ्यो। तर क्यामेरा अगाडि उभिएर वाचन गर्नु साहै गाह्रो रहेछ,' त्यो बेला सम्झिन्छिन् उनी।

युट्युब च्यानल सुरू गरेको केही सातामा नै कोरोना महामारीका कारण देशैभर लकडाउन भयो। लकडाउनले दिएको खाली समय उनको लागि अवसर बन्यो। च्यानलमा सातामै तीन/चार वटा भिडियोसमेत हाल्न थालिन्। घरभित्रै थुनिएको समयमा थप स्पोकन वर्डहरु सुन्न थालिन्। कविता लेख्न र वाचन गर्ने शैली सिक्ने ‘पर्फेक्ट’ अवसर बन्यो ती दिनहरु।

लकडाउनको समयमा उनको कविताहरु युट्यबमा आउन थालेपछि साथीहरुले मनपराए। म्यासेज र फोनमा प्रोत्साहन गर्नेको कमी भएन। यसअघि कुनैपनि स्टेज कार्यक्रममा प्रस्तुति नदिएकी उनको वाचन शैलीमा कन्फिडेन्स बढ्दै गयो। हाल उनको युटयुब च्यानललाई करिब ३ हजार ८०० जनाले सब्सक्राइब गरेका छन्। टिकटकमा पनि उनलाई फलो गर्नेको कमी छैन। तर अस्मितालाई भने युटयबमा आउने भ्यूजको तनाब नै छैन। उनलाई आफ्नै काव्य शैलीमा हिँड्नु छ। जसलाई मन पराउने एउटा छुट्टै जमात छ।

ओखलढुंगामा जन्मेकी अस्मिता काठमाडौंमा हुर्केकी हुन्। तर आफूलाई 'पूर्वेली' भन्न रुचाउँछिन्। छिट्छिटो बोल्ने भएर पूर्वेली गुण आएको बताउने उनी भावनाहरुलाई बाहिर निकाल्न मन पराउँछिन्। युवाहरु माझ कविको परिचय बनाएकी अस्मितालाई भने आफ्ना गीत, कविता र कथाहरु ‘सिल्ली’ लाग्छन्।

'मलाई आफूले लेखेका गीत, कविता र कथाहरु सिल्ली लाग्छन्। आफैले लेखेका सिर्जनाहरु न त गीतजस्तै हुन्छन्। न त कविता जस्तै,' भन्छिन्, ‘सिल्ली र सरल लाग्ने भएर युट्युब च्यानलको नाम 'सिल्ली सङ्स् एन्ड सटल पोयम्स' राखें।'

अस्मिता गौतमको पछाडि ‘बरी’ उपनाम राख्नुको पछि पनि कथा छ। उनलाई पारिजातको पुस्तक 'शिरिषको फूल' को सकमबरी पात्र निकै मन पर्छ। सकमबरीबाट प्रभावित भएर 'बरी' उपनाम राखेको अस्मिताले बताइन्।

‘बरी’ सँग जोडिएको एउटा प्रसंगसमेत सुनाउन भ्याइन् उनले। केहीअघि कविता फलो गर्दै आएका एक व्यक्तिले अस्मितालाई पत्र पठाउँदा 'बरी' को बारेमा समेत लेखिएको थियो। ती व्यक्तिले ‘शिरिषको फूल’ पुस्तकको अंश राखेर 'आफूलाई पनि सकमबरी' मन पर्ने लेखेका थिए। उक्त पत्रले आफूलाई थप खुसी र उर्जा मिलेको उनी बताउँछिन्।

साथीहरु र साथीका साथीसम्म पुगेको उनको युट्युब च्यानल बिस्तारै नचिनेका अडियन्ससम्म पुग्न थाल्यो। २ हजार सब्सक्राइब कटेपछि नचिनेको दर्शकहरु जोडेको उनको अनुभव छ। अन्जान दर्शकहरुले प्रतिक्रिया गर्दा निकै खुसी मिल्ने उनले बताइन्। विशेषगरी अस्मिताको मीठो आवाज र आकर्षक प्रस्तुतिलाई अडियन्सले मन पराएका छन्।

'तपाईको आवाज कति शान्त छ सुत्ने बेला नसुन्दा त सुत्नै सक्दिन', 'कोहीसँग बोल्नु परेन भने तपाईको बोलेको सुन्छु' भन्ने ‘क्रेजी फ्यान’ समेत भेटाएकी छिन् उनले।

क्लबहाउसको संयोग

अस्मिताका कथा, कविता र गीतहरु विशेषगरि युवावर्गमा लक्षित छन्। ती कवितामा प्रेम, मित्रता र पीडा झल्किनु उनको सिर्जनाको विशेषता हो। त्यसैले त सबै सिर्जनाहरुलाई भावनात्मक भन्न रुचाउँछिन् उनी। कहिलेकाहीँ भने समसामयिक विषयवस्तुमा उनले कविता सिर्जना गर्छिन्। युट्यबमा आफ्ना सिर्जना राखेर प्रशंसा पाउँदै गरेकी उनलाई क्लबहाउसले पनि चिनाउने अवसर दियो।

कोरोनाको दोस्रो लहरपछि क्लबहाउस निकै चर्चामा रह्यो। बिहानदेखि रातसम्म विभिन्न विषयमा क्लबहाउसमा विभिन्न विषयमा छलफल चल्थ्यो। यसबिच अस्मिताले पनि क्लबहाउसमा 'सिल्ली सङ्स् एन्ड सटल पोयम्स' नामबाट क्लब खोलिन्। क्लब हाउसमा जोडिएसँगै उनलाई ‘अडिन्यस’सँग प्रत्यक्ष रुपमा कुराकानी गर्न सजिलो भयो। क्लबहाउसले अडियन्स र आफूबिच रहेको भित्ता नै भत्काइदिएको उनको तर्क छ।

क्लब हाउसमा कथा र कविता पढ्ने समूह नै बन्यो। क्लबहाउसमा आउने धेरैले अस्मितालाई कविता सुनाउन आग्रह गर्थे। अस्मितासँगै अरुहरुले पनि निषेधाज्ञाको समयमा क्लबहाउसमा कविता महोत्सवको माहोल जमाए।

'क्लबहाउस दर्शकसँग जोडिने निकै राम्रो माध्यम रहेछ। कविता कथा सुनाउनेदेखि अडियन्सहरुका सिर्जना र कुरासमेत सुन्थ्यौँ। प्राय: सबै लेख्ने र सुन्न रुचाउने अडियन्सहरु नै हुनुहुन्थ्यो,' उनले भनिन्।

अहिले भने क्लबहाउसको ट्रेन्ड हराउँदै गएको छ। युट्युबबाट सुरु भएको उनको यात्रा भने निरन्तर जारी नै छ। अहिले उनलाई स्टेज कार्यक्रममा समेत बोलाउन थालिएको छ। छ-सातवटा स्टेज प्रस्तुतिसमेत उनले यसबिच दिइसकेकी छिन्।

अहिले उनीसँग राम्रो क्यामेरा छैन। कहिले साथीको क्यामेराबाट त कहिले मोबाइलबाट नै भिडियोहरु बनाउने गर्छिन्। दु:खको विषयवस्तुको दर्शकलाई बढी तान्ने उनको महसुस गरेकी छिन्।

चाहे 'नेपाल यातयात' होस् या 'साना पल ठूला खुसी' वा 'पानीमा फूल्ने फूल'। आफूले वरपर देखेका दृश्य, पात्र र घटनाबाट प्रभावित भएर सिर्जना गरेको उनले सुनाइन्। 'तीन कप चिया' देखि 'द लास्ट सिगरेट' जस्ता शृंखलाबद्ध स्टोरीहरु समेत वाचन गरेकी उनी युट्यबको विकृतिबारे अन्जान छैनन्।

भ्यूज बटुल्ने भिडमा अस्मिताको भने बाटो नै फरक छ। किन भने उनलाई न त भ्युजको लोभ छ न त कसैसँग प्रतिस्पर्धा नै गर्नु छ उनलाई। बस् उनलाई पोख्नु छ आफ्ना अभिव्यक्तिहरु।

कविता चलेपछि अस्मितालाई चिन्नेको संख्या बढेको छ। अन्जान व्यक्तिहरुले पनि उनको प्रशंसा गरिरहेका हुन्छन्। यसबिच एकदिन अस्मिताका बुवाले भनेछन्, 'जसरी अहिले अडियन्सले सपोर्ट गरिरहेका छन् पछि गाली नि गर्न सक्छन्। त्यसको लागि तिमी तयार छौँ?’

जवाफमा आफूले बुवालाई प्रश्नहरुको उत्तर दिन तयार रहेको जवाफ दिएको अस्मिताले बताइन्।

‘काम सुरु गरिसकेपछि अब चाँहि रोकिन्न भन्ने भाव आयो’ आफूलाई युट्युबले नै चिनाएको कुरालाई सहजै स्विकार्दै उनले भनिन्।

अहिलेसम्म भने अडियन्सबाट नराम्रो कमेन्ट सुन्नु नपरेको बताउँछिन् उनी। भन्छिन् 'मलाई मेरो युट्युबको अडिन्यहरु इन्टरनेटको हो जस्तो नै लाग्दैन। उहाँहरु मेरो आफ्नै मान्छेजस्तो लाग्छ। जुन सायद मेरा सिर्जनाहरुको जादु नै होला।'

वर्तमान समयमा पनि युवाहरुमा साहित्यप्रतिको रुचि कम नभएको उनको भनाई छ। आफूले भन्ने गरेका कविताका दर्शकहरु युवा नै भएकाले उनले साहित्य प्रति युवाको मोह कायम रहेको बताइन्।

'अहिले पनि साहित्यलाई मन पराउने निकै मान्छे हुनुहुन्छ। मैले आफ्ना सिर्जनाहरु सेयर गर्न थालेपछि मैले पनि लेखेको छु भन्ने धेरै भेटाए। हामी आफ्नो रचना सेयर गर्न गाह्रो मान्छौँ। जसले पनि केही न केही लेख्छ। सेयर गर्ने नगर्ने छुट्टै कुरा हो।'

अस्मितालाई आफूले लेखेका कथाहरुमा ‘सर्ट फिल्म’ बनाउने मन छ। तर आफूले लेखेको कथा र अरुले बनाउना पात्रको ‘कन्सेप्ट’ नै फरक हुने डरले उनले हालसम्म कथाहरुमा सर्ट फिल्म बनाउने योजनालाई अघि सारेकी छैनन्।

‘मलाई आफू पनि स्टोरीमा समावेश हुन मनपर्छ। मेकिङमा नै जोडिएर सर्ट मुभी र सिरिज बनाउने योजना छ। दर्शकले मलाई कलाकै वरिपरि पाउने छन्,’ उनले भावी योजना सुनाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell