PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रदेश १ मा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न डा. शेखरको आग्रह, प्रधान न्यायाधीशको राजीनामा माग



अनन्तराज न्यौपाने

प्रदेश १ मा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न डा. शेखरको आग्रह, प्रधान न्यायाधीशको राजीनामा माग

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालालाई निर्वाचित गराउन आग्रह गरेका छन्।

गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त गरिएका भीमप्रसाद आचार्यले कात्तिक ७ गते आइतवार विश्वासको मत लिने भएका छन्। आचार्यलाई विश्वासको मत प्राप्त नहुने निश्चित देखिएका बेला कांग्रेस नेता डा. कोइरालाले नेपाली कांग्रेसका नेतृत्वमा प्रदेश सरकार गठन गरिनुपर्ने अडान व्यक्त गरेका हुन्।

‘राजीवजी विपक्षी दलका नेता हुनुहुन्छ’, कोइरालाले पहिलोपोस्टसित भने, ‘प्रदेशमा विपक्षी दलको नेता भनेको वेटिङ चिफ मिनिस्टर हो। संसदीय मर्यादा र मर्म पनि यही हो। त्यसैले राजीवजीलाई नै मुख्यमन्त्री बनाउन पार्टीले भूमिका गर्नुपर्छ।’

‘संसदीय दलमा राजीवजी स्वीकार्य हुनुभएन भने संसदीय दलको बैठक बोलाएर अर्को नेताको चयन गरेर उहाँकै नेतृत्वमा सरकार बनाउन पनि सकिन्छ’, उनले थपे, ‘जसरी होस्, सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ। यो नेपाली कांग्रेसका लागि अवसरको क्षण हो। यसको सदुपयोग पार्टीले गर्नुपर्छ।’

उनले अबको प्रदेश सरकारमा कांग्रेसको नेतृत्व नभए कार्यकर्ता र शुभचिन्तकको मनोबल खस्कने र निरासा छाउने प्रतिक्रिया व्यक्त गरे।

‘तर पार्टीको केन्द्रीय समितिमा प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू यस बारेमा किन चूप हुनुहुन्छ, म आश्चर्यचकित छु’, कोइरालाको आग्रह थियो, ‘प्रदेश सभामा कांग्रेसका सांसदहरूले पनि आफ्नो दलका नेताका नेतृत्वमा सरकार गठन गराउन पार्टीसित अझ जोडदार ढङ्गले माग गर्नुपर्छ।’

प्रदेश १ लाई किन हेला?

नेता कोइरालाले भर्खरैको वर्षा र बाढीपहिरोमा सबैभन्दा बढी हताहत भएको अनि कृषिबाली र धनमालको नोक्सानी भएको प्रदेश नम्बर १ लाई प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले किन उपेक्षा गरेको भन्दै आक्रोश व्यक्त गरे।

वर्षा र बाढीपहिरोमा परी प्रदेश १ मा ७० जनाको मृत्यु भएको छ। त्यस्तै १८ घाइते र १२ जना बेपत्ता छन्।

‘देउवाजी पार्टीको राष्ट्रिय सभापति र मुलुककै प्रधानमन्त्री हुनुहुन्छ’, उनले भने, ‘केन्द्रीय सभापति र प्रधानमन्त्री भनेको आफ्नो निर्वाचन क्षेत्रको मात्र होइन, सिङ्गो मुलुकका लागि हो। तर उहाँ आफ्नो निर्वाचन क्षेत्रमा मात्र पुगेर पूर्वलाई अन्याय र उपेक्षा गर्दै हुनुहुन्छ। म उहाँलाई सबैभन्दा बढी हताहत भएको प्रदेश नम्बर १ तपाईंको प्राथमिकतामा किने परेन भनेर प्रश्न गर्न चाहन्छु।’

प्रधानमन्त्री देउवाले भर्खरै सुदूर पश्चिममा बाढीपहिरो र क्षतिको स्थलगत निरीक्षण गरेका छन्।

कोइरालाले प्रदेश नम्बर १ को क्षतिको विवरण सङ्कलन गरेर तुरुन्त राहतका कार्यक्रम सञ्चालन गर्न सरकारसित माग गरे।

प्रधान न्यायाधीश राजिनामा दिनोस्

पहिलोपोस्टसितको संवादमा डाक्टर कोइरालाले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो पदको मर्यादा र गरिमा जोगाउन तत्काल राजिनामा गर्नुपर्ने धारणा प्रकट गरे।

‘मलाई लाग्छ, अब उहाँ नै चिफ जस्टिस भएर कार्य सम्पादन गर्ने अवस्था छैन’, उनको कथन थियो, ‘त्यसैले उहाँको राजिनामाको विकल्प छैन। तर यसमा विलम्ब गरेर आफू अझ विवादास्पद बन्नुभन्दा उहाँले तत्काल राजिनामा दिएर नैतिक मूल्य कायम गर्नु बढी श्रेयष्कर हुन्छ।’

यस प्रकरणमा प्रधान न्यायाधीश राणासँगै प्रधानमन्त्री देउवा पनि उत्तिकै दोषी भएको शेखरको आरोप छ।

उनको विचार छ, ‘त्यसैले यस बारेमा प्रधानमन्त्रीजीको पनि स्पष्टीकरण आउनु जरुरी छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell