पाँचथर : पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको संख्या ३० पुगेको हो।
यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिरोको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो संख्यामा स्थानीयवासीको ज्यान गएको हो। बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका-६ की २२ वर्षीया सम्पदा आले मगर र पहिरोले पुरिएर बेपत्ता फाल्गुनन्द गाउँपालिका-४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढी र पहिरोमा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ। त्यसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन्। जिल्लामा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिरामा परी बेपत्ता छन्। बेपत्ता हुनेमा दुई स्वास्थ्यकर्मीसमेत छन्। इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए। पहिरो झरेपछि भाग्ने क्रममा पहिरोले पुर्दा बेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले जानकारी दिए।
बाढी र पहिरोमा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ। सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन थालिएको समितिले जनाएको छ।