काठमाडौँः आईसीसी टी–२० विश्वकपमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ। सुपर–१२ को शनिबार सम्पन्न पहिलो खेलमा अष्ट्रेलियाले साउथ अफ्रिकामाथि ५ विकेटको जित हात पारेको हो। ११९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलियालाई जितका लागि भने अन्तिम ओभरसम्म कुर्नुपर्यो।
आबुधाबीमा पहिले ब्याटिङ गरेको साउथ अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर ११८ रनमात्र जोड्न सक्यो। मध्यक्रमका एडेन मर्क्राम बाहेकका कुनै पनि ब्याट्सम्यान जम्न सकेनन्। मर्क्रामले ३६ बलमा ४० रन जोडे। यस्तै कागिसो राबाडाले १९ रनको योगदान दिए।
जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाको सुरुआत भने कमजोर रह्यो। ओपनर तथा कप्तान आरोन फिन्चलाई शून्यमा गुमाएको अष्ट्रेलियाका लागि डेबिड वार्नरले १४ रनको योगदान दिए। स्टेभन स्मिथले ३५ रन जोड्दा मार्कस स्टोनिसले नटआउट २४ रन बनाए।
अष्ट्रेलियाका लागि मिचेल स्टार्क, जोस हेजेलउड र एडम जाम्पाले समान २/२ विकेट लिए।
प्रगियोगिता अन्तर्गत आज राति इंग्ल्याण्ड र वेस्ट इन्डिज भिड्दै छन्।
