PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कांग्रेसका सांसदले फ्लोर क्रस गर्ने चिन्ता ! प्रदेश १ मा आजको बैठक स्थगित गर्न सभामुखलाई प्रतिपक्ष र सत्तारुढ दलकै निवेदन



अनन्तराज न्यौपाने

कांग्रेसका सांसदले फ्लोर क्रस गर्ने चिन्ता ! प्रदेश १ मा आजको बैठक स्थगित गर्न सभामुखलाई प्रतिपक्ष र सत्तारुढ दलकै निवेदन

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले  आज प्रदेशसभामा विश्वासको मत लिने भनिए पनि सत्तारढ र विपक्षी दलले नै आजको बैठक स्थगित गर्न माग गरेका छन्।

सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सभामुख प्रदीप कुमार भण्डारीलाई बैठक स्थगित गर्न निवेदन दिएका हुन्। आफूहरुको अधिवेशन चलिरहेकोले सबै प्रदेशसभा सदस्यहरु उपस्थित हुन नसक्ने भन्दै एमालेले बैठक लम्बयाउन निवेदन दिएको हो।

यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले पनि बैठक सार्न निवेदन दिएका छन्। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पूर्वमा भ्रमणका क्रममा आउन लागेकाले आजको बैठक स्थगित गर्न उनले निवेदन दिएका हुन्।

देउवा आज बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रदेश १ पुग्दैछन्।

कांग्रेसले मिति नै तोकेर बैठक स्थगित गर्न माग गरेको छ। कार्कीले निवेदनमा कात्तिक १५ गतेसम्मलाई बैठक स्थगित गर्न माग गरेको हो।

देउवाको भ्रमणलाई देखाएर आजको बैठक स्थगित गर्न भनिए पनि प्रदेशभित्र कांग्रेसमा सत्ता समीकरणबारे मतभेद बढ्दै जाँदा बैठक स्थगितका लागि कार्कीले निवेदन दिएको नेताहरुले बताएका छन्।

नेकपा एमाले विभाजन भएपछि भीम आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। केन्द्रमा सत्तारुढ गठबन्धनले प्रदेश १ मा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरिसकेका छन्। एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार हुन्।

तर, प्रदेशमा सरकार गठनको सवालमा कांग्रेसभित्र मन्त्रालयको विषयलाई लिएर चरम असन्तुष्टि रहेको र केही सांसद्ले फ्लोर क्रस समेत गर्न सक्ने अवस्था रहेकाले बैठक स्थगित गर्न माग गरिएको हो।

यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भने कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्नुपर्ने बताएका छन्।

कोइरालाले प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालालाई निर्वाचित गराउन आग्रह गरेका हुन्।

आचार्यले विश्वासको मत लिन लाग्दा डा कोइरालाले नेपाली कांग्रेसका नेतृत्वमा प्रदेश सरकार गठन गरिनुपर्ने अडान व्यक्त गरेका छन्। यसले कांग्रेस राजनीति थप गिजोलिएको छ।

प्रदेश नम्बर १ को प्रदेश सभा ९३ सदस्यीय छ। यसमा माओवादीका नेता टंक आङ्बुहाङ एमालेमा गएका कारण उनको पद खारेज भएपछि हाल ९२ सांसद् छन्। जसमा १० जना एकीकृत समाजवादीमा गएपछि एमालेका अब ५१ बाट ४१ सांसद् भएका छन्। मुख्यमन्त्री आचार्यलाई आफ्ना पक्षमा बहुमत ४७ सांसद् आवश्यक पर्छ। यसरी आचार्य अल्पमतमा परिसकेका छन्।

त्यस्तै नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, संघीय समाजवादीका ३ तथा राप्रपा र संयुक्त राष्ट्रिय लोकतान्त्रिक मञ्चका १–१ सांसद् छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell