PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

वाग्मती र प्रदेश नम्बर १ मा मुख्यमन्त्रीले बदमासी गरे : एकीकृत समाजवादी



पहिलोपोस्ट

वाग्मती र प्रदेश नम्बर १ मा मुख्यमन्त्रीले बदमासी गरे : एकीकृत समाजवादी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटहरुको 'बदमासी'का कारण प्रदेश नम्बर १ र वाग्मती प्रदेशका  मुख्यमन्त्री चयन प्रक्रियामा व्यवधान सिर्जना भएको आरोप नेकपा (एकीकृत समाजवादी)ले लगाएको छ।

नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रदेश नम्बर १ मा मुख्यमन्त्री भीम आचार्य र प्रदेश प्रमुख सोमनाथ अधिकारीले राजनीतिक बेइमानी गरिरहेको आरोप लगाए।

'मुख्यमन्त्री र प्रदेश प्रमुख दुई जनाको ठूलो राजनीतिक बेइमानी चलिरहेको छ,' उनले भने। खतिवडाले प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी, मुख्यमन्त्री आचार्य र प्रदेश प्रमुख अधिकारीको चपेटामा परेको दावी गरे।

एकीकृत समाजवादीले एमालेका अध्यक्ष ओलीसँग निकट रहेका नेताहरुमा राजनीतिक इमान गुम्दा प्रदेशमा मुख्यमन्त्री फेर्न समस्या भएको बताएको हो। वाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक इमान नदेखाउँदा मुख्यमन्त्री परिवर्तन नभएको खतिवडाले बताए। 'आफू अल्पमतमा छु भनेर जान्दाजान्दै कुर्सीका लागि मरिहत्ये गरेर टाँसिने प्रवृत्तिले समस्या सिर्जन भएको हो। स्ट्रगल चलिरहेको छ। बहुमतको जित र अल्पमतको हार त हुन्छ नै। अहिलेको मुख्यमन्त्रीले राजनीतिक रुपले आफ्नो भविश्य समाप्त पार्दैछन्,' उनले भने।

खतिवडाले दुवै ठाउँका मुख्यमन्त्री अल्पमतमा परेको भए पनि सत्तामा टाँसिरहने प्रवृतिका कारण सरकार परिवर्तनमा ढिलाइ भएको आरोप लगाए। खतिवडाले दुवै ठाउँमा नेकपा एकीकृत समाजवादीका मुख्यमन्त्री हुने दाबी गरे। नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश नम्बर एकमा राजेन्द्र राई र वाग्मतीमा राजेन्द्र पाण्डे प्रस्तावित छन्।

खतिवडाले सत्ता गठबन्धनमा भएको सहमति अनुसार वाग्मतीमा पूरै कार्यकाल आफ्नो पार्टीका नेता पाण्डले मुख्यमन्त्री पाउने दाबी गरे। भने, 'सहमति पूरै कार्यकाल हाम्रो पार्टीले मुख्यमन्त्री पाउने भन्ने हो। आधाआधा कार्यकाल भन्ने सहमति फाइनल होइन। केही फिक्स छैन,' उनले भने।

शुक्रवार प्रदेश सभाको बैठक बस्नुअघि गठबन्धनले आलोपालो सरकार चलाउने निर्णय गरेको थियो। मुख्यमन्त्रीको बाँकी रहेको १४ महिना समाजवादीका पाण्डे र नेपाली कांग्रेसका इन्द्र बाँनिया ७/७ महिना मुख्यमन्त्री बन्ने सहमति भएको थियो।

तर, उक्त सहमतिप्रति नेकपा एकीकृत समाजवादीले भने असहमति जनाउँदै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बिस्तारका बेला भागबण्डालाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका थिए। वाग्मती र प्रदेश १ मा नेपाललाई मुख्यमन्त्री दिएर गठबन्धनका नेताहरुले सरकार बिस्तारका बेला नेपाललाई मनाएका थिए। केन्द्रमा भएको उक्त सहमति प्रदेशमा भने पालना हुन सकेको छैन।

गठबन्धन भित्रै सहमति कार्यान्वयन गर्न आनाकानी भएपछि दुवै प्रदेशका मुख्यमन्त्रीको कार्यकाल लम्बिरहेको छ। वाग्मतीमा शुक्रवार नै मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तय भए पनि सत्ता र प्रतिपक्ष दलको सहमतिमा कात्तिक १० गते सम्मका लागि बैठक सारिएको छ।

यता प्रदेश १ मा पनि मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने तय भए पनि नेपाली कांग्रेसले मत विभाजनको क्रममा फ्लोर क्रस गर्ने सम्भावना भएपछि प्रदेश १ को बैठक १५ कात्तिक १५ गतेसम्मका लागि सारिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell