काठमाडौं : बिमल घर्तीमगरले शहीद स्मारक ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबसँग एक वर्षका लागि सम्झौता गरेका छन्। कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगमा मछिन्द्रबाट खेल्दै लामो समययता मैदान बाहिर रहेका बिमलले मैदानमा पुनरागमन गर्न लागेका हुन्।
'अघिल्लो वर्ष लिगको अन्तिम एउटा मात्र म्याच खेलेको थिएँ। यो पाली पनि टिम राम्रो छ। यसपटक सबै खेल खेल्ने कोसिस गर्नेछु,' मगरले भने, 'लामो समयपछि मैदान फर्कँदै छु। पहिलाको भन्दा फिट छु।'
बिमलले अगाडि भने, 'राम्रो नराम्रो दुबै समयहरु आए। चोट पछिको मेहेनतबारे पनि राम्रो ज्ञान पाएको छु।'
अघिल्लो सिजनको च्याम्पियन भएकोले टाइटल डिफेन्ड गर्ने आफ्नो लक्ष्य भएको मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बताए। उनले स्टार खेलाडीहरु अनुबन्धन गरेको भन्दै चाँडै विदेशी खेलाडीहरु पनि घोषणा गर्ने बताए।
बिमलले यसअघि मछिन्द्रबाटै लिगको अन्तिम खेल खेलेर मोफसलमा केही खेलहरु खेलेका थिए। अभ्यासको क्रममा चोट बोकेपछि उनको कतारमा उपचार भएको थियो। उपचार पछि पहिलो पटक उनी मैदान उत्रन लाग्दैछन्।
कात्तिक अन्तिमबाट ए डिभिजन लिग सुरु हुन निर्धारण गरिएकोमा क्लबहरु धमाधम खेलाडी अनुबन्धनमा सक्रिय भएका छन्।
