सुडानमा 'सैन्य कू' पछि संक्रमणकालीन सरकारका प्रमुख र अन्य नेताहरुलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ।
पहिचान खुल्न नसकेका सैनिकहरुले प्रधानमन्त्री अबदल्लाह हमडोकसहित नेताहरुलाई घरमै नजरबन्द गरेको बताइएको छ। 'ज्वाइन्ट मिलिटेरी फोर्सेस'को संयुक्त कारवाहीमा नेताहरुलाई पक्राउ गरिएको र उनीहरुलाई गुप्त स्थानमा लगिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।
'सैन्य कू' भनिएपनि सेनाले यस विषयमा केही भनेको छैन। प्रजातन्त्र पक्षधर समूहले भने सडक संघर्षको घोषणा गरिसकेको छ।
रोयटर्सका अनुसार राजधानी खार्तुममा नागरिकहरुलाई हिँड्न रोक लगाइएको छ। सडकमा सेना र अर्ध सैनिक बल तैनाथ छन्। खार्तुम विमानस्थल हाललाई बन्द गरिएको र अन्तर्राष्ट्रिय विमान सेवा रद्द गरिएको छ।
सुडानमा वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्ट रहेको विपक्षी समूहले सेनालाई 'कू' गर्दै सत्ता हातमा लिन आग्रह गर्दै आएको थियो। सेनालाई सत्ता नियन्त्रणमा लिन भन्दै उनीहरुले प्रदर्शन समेत गरेका थिए।
सन् २०१९ मा ओमर अल बसिरलाई अपदस्त गरेपछि सुडानमा सेना र राजनीतिक दलको संयुक्त संक्रमणकालीन सरकार रहेको थियो। तर, गत सेप्टेम्बरमा बसिरको समर्थनमा रहेको सेनाले गरेको असफल 'कू' प्रयासपछि सुडानमा संकट बढेको हो।
सेनाले सरकारमा परिवर्तन माग गरिरहेपछि राजनीतिक दलहरुले त्यसलाई स्वीकार गरेका थिएनन्। उनीहरुले सेनाको प्रस्ताव सत्ता कब्जाको प्रयास भएको बताउँदै आएका थिए।
सेना समर्थित प्रदर्शनकारीहरुले भने सुडानी सेनाका प्रमुख जेनरल अबदेल फट्टह अल बुर्हानलाई कू गर्दै सत्ता नियन्त्रणमा लिन आह्वान गरिरहका थिए। बुर्हान संयुक्त सेना-नागरिक सार्वभौम काउन्सिलका प्रमुख समेत हुन्।
