काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एउटा शक्ति माओवादी भारतले उत्पादन गरेको शक्ति भएको भ्रम छरिरहेको आरोप लगाएका छन्।
नेपालका लागि पूर्व भारतीय राजदुत रन्जित रेको पुस्तक 'काठमाडौं डिलेमा' माथि बहस गर्दै उनले नेपाली समाजको एउटा तप्काले माओवादी भारतबाट सञ्चालित भएको भ्रम छरिरहेको आरोप लगाएका हुन्। उनले भने,'नेपालमा भारतद्वारा माओवादी उत्पादन भएको हो भन्ने भ्रम छ। एउटा तप्काले भ्रम पार्न धेरै बल गर्यो। यो किताबमा होइन भन्नेकुरा प्रमाणित गर्नुभएको छ,' उनले भने।
उनले भारतले अन्तिमसम्म पनि माओवादीलाई सिद्ध्याउन लागेको बताएका छन्। माओवादीका नेताहरुलाई गिरफ्तार गरेर नेपाल पठाइएको बताउँदै उनले माओवादी पराजित भएर शान्ति सम्झौता नभएको टिप्पणी गरे।
उनले माओवादी केन्द्रलाई दलहरुले राजनीतिको मेनस्ट्रिममा नल्याएको दाबी गर्दै प्रचण्डले प्रश्न गरे- 'माओवादीलाई मेनइस्ट्रिममा ल्याएको हो कि? माओवादीले नयाँ मेनस्ट्रिम बनाएको हो?'
उनले माओवादी युद्धमा को विजेता र को पराजित भएको भन्ने वहस हुनुपर्ने बताए। 'को विजेता हो को पराजित हो राजनीतिक रुपले र बौद्धिक रुपले विश्लेषण हुनुपर्छ। एकथरीले माओवादीलाई ठिक पारेर ल्याइयो भन्ठानेका छन्,'उनले भने।
उनले आफू आत्मसमर्पण गरेर नआएको भन्दै गणतन्त्र आउने परिस्थिति भएपछि शान्ति सम्झौता भएको बताए। 'गणतन्त्र ल्याउने परिस्थिति बनेको छ यसलाई हामीले सदुपयोग गर्नुपर्छ भन्नेमा कुरा थियो। सरेन्डर गरेको कसले हो?' उनले प्रश्न गरे।
पछिल्ला एजेण्डा माओवादीले उठाएको प्रचण्डको भनाइ छ। तर माओवादीले उक्त एजेण्डा बोक्न नसक्दा खतरामा परेको उनले स्वीकार गरे। 'कसैलाई मन परे पनि नपरे पनि पछिल्ला एजेण्डा हामीले उठाएका हौँ,' उनले भने।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा भाषण गर्दा तारिफ भएको भन्दै सम्बन्ध सुधारमा केन्द्रित हुन आग्रह गरे। नेपाल-भारत समस्या सुधार गरेर अगाडि जानुपर्ने प्रचण्डको भनाइ थियो। नेपाल-भारत मिल्नुको विकल्प नभएको उनले बताए।
'मोदीले तिमी स्वतन्त्र राष्ट्र हौँ भन्दा ताली बजाउनेलाई ताली बजाएको बजायै बनाइदिनु पर्यो,' उनले भने।
