PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने कि राजीनामा माग्ने? प्रश्नमा ओलीको जवाफ यस्तो : भद्रगोललाई केही समय पाक्न दिनुपर्छ



अनन्तराज न्यौपाने

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने कि राजीनामा माग्ने? प्रश्नमा ओलीको जवाफ यस्तो : भद्रगोललाई केही समय पाक्न दिनुपर्छ

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउने वा उनको राजीनामा माग्ने भन्ने विषयमा पार्टीको कुनै धारणा नरहेको बताएका छन्।

विराटनगरस्थित होटल ह्यारिसनमा मङ्गलवार स्थानीय संवाददातासँग अध्यक्ष ओलीले प्रधानन्यायाधीशका बारेमा के गर्ने भन्ने कुनै निर्णय नगरिएको बताएका हुन्।

मन्त्री गजेन्द्र हमाल प्रकरणपछि प्रधानन्यायाधीशको राजीनामाको माग सर्वत्र बढेका बेला ओलीले तटस्थताको सन्देश दिएका हुन्।

उनले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने कुरामा एमालेले पक्षधरता जनाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारे।

‘हामी स्वतन्त्र र निष्पक्ष न्यायालय चाहन्छौँ’, ओलीले भने, ‘हामीलाई कुनै अशोभनीय गुट वा दाउपेचमा फस्नु छैन। हामीले कुनै खिँचातानीमा भाग लिने पनि होइन।’

त्यसो भए के तपाईंहरू प्रधानन्यायाधीशसितको सेटिङमा हुनुहुन्छ भन्ने प्रश्नमा ओलीको प्रतिप्रश्न थियो, 'सेटिङ भए हामी मुद्दा किन हार्थ्यौ र परमादेशको सरकार कसरी बन्थ्यो?'

उनले बारले सुनवाइ रोकेको, आफैँ इजलास तोकेको र इजलासमा तोकिएका न्यायाधीशको फैसला मान्दैनौँ भनेर आफैँ न्यायाधीश छानेको विषय सेटिङ होइन र भन्दै आश्चर्य व्यक्त गरे।

उनले यसअघि सुशीला कार्की प्रधानन्यायाधीश हुँदा नै उहाँबाट संविधान मिच्ने काम भएको र त्यही परम्परा दोहोरिएको चर्चा गर्दै के सर्वोच्च अदालतले संविधान मान्नुपर्दैन भन्दै आक्रोश प्रकट गरे। ओलीले यो मुलुक संविधानबमोजिम चल्ने कि उहाँहरूको इच्छाबमोजिम भन्दै प्रधानन्यायाधीशप्रति लक्षित टिप्पणी गरे।

‘अहिलेको गठबन्धनले राजनीतिक प्रणालीमाथि नै प्रहार गरिरहेको छ’, उनको भनाइ थियो, ‘हामी सरकारमा हुँदा संसदमा एकदुई जना उभिँदा पनि संसद चल्दैनथ्यो। अहिले एमालेजस्तो शक्तिशाली, ठूलो र महत्त्वपूर्ण पार्टी उभिँदा पनि मन्त्रीहरू झ्याल र जस्केलाबाट छिरेर सही गर्छन्। खुरुखुरु संसद चलाइरहेका छन्। यो पनि एउटा सेटिङ नै हो।’

उनले संविधान, कानुन र प्रतिनिधिसभा नियमावली मिचेर सभामुखले काम गरिरहेको आरोप लगाउँदै सभामुखले एमालेविरोधीका रूपमा आफूलाई देखाइरहेको टिप्पणी गरे।

ओलीले आफूले चाहेमा वर्तमान सरकार कुनै पनि बेला ढालिदिन सक्ने चेतावनी दिए र भने, ‘तर भद्रगोललाई केही समय पाक्न दिनुपर्छ। उहाँहरूले जे गर्दै हुनुहुन्छ, त्यो मुलुकका लागि घातक छ। यो कुरा रामचन्द्र पौडलजी र प्रकाशमान सिंहजीले पनि भनिसक्नु भएको छ। रामचन्द्रजीले त अहिलेको भन्दा पहिलेकै सरकारले गरेको राम्रो भन्नुभएको कुरा तपाईंहरूले सुनिसक्नुभयो होला।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell