काठमाडौं : ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या मुद्दामा जन्म कैद पाएका चूडामणि उप्रेती (गोरे) लाई थप १० वर्ष जेल सजाय तोकिएको छ। जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार थप १० वर्ष कैद सजाय सुनाएको जिल्ला अदालत मोरङका सूचना अधिकृत हेम बुढाथोकीले जानकारी दिए।
अपहरण तथा शरीर बन्धक मुद्दामा थप सजाय तोकिएको हो। त्यस्तै १० वर्ष सजाय सहित १ लाख रुपैयाँ जरिवाना र मृतकका नजिकका आफन्तलाई १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ति समेत दिनु पर्ने निर्णय भएको छ।
त्रिभुवन विमानस्थलबाट बाहिरिएर अझैसम्म पत्ता लाग्न नसकेको ३३ किलो प्रकरणको फैसलामा जिल्ला अदालत मोरङले असोज १९ गते ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकेको थियो। ४८ जनाले सफाइ पाउँदा २१ जना प्रतिवादी अझै फरार छन्।
सुन प्रकरणका मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) लाई जन्मकैद सजाय सुनाइएको थियो।
२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बिच बाटोबाट नै एकाएक गायब भएको थियो। यही विषयमा सुन तस्करबिच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका एकाएक घटनाका प्लटहरू बाहिरिएका थिए।
२०७५ वैशाख १९ गते सात जना प्रहरी सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको थियो। त्यसबाहेक अन्यलाई लगाऊ मुद्दा लगाइएको थियो।
अझैसम्म ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लाग्न सकेको छैन। सुन प्रकरणका मुख्य अभियोगमा चुडमाणि उप्रेती 'गोरे' २०७५ जेठमा पक्राउ परेका थिए। उनी हाल अदालतको आदेशमा केन्द्रीय कारागार सुन्धारामा छन्।
