PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

आईपीएलमा भित्रिएका नयाँ दुई टोलीले प्रतियोगितामा कस्तो प्रभाव पार्लान्?



पहिलोपोस्ट

आईपीएलमा भित्रिएका नयाँ दुई टोलीले प्रतियोगितामा कस्तो प्रभाव पार्लान्?

इण्डियन प्रिमियर लिगमा दुईवटा नयाँ टिम थपिएका छन्। सोमवार आरपी सञ्जीब गोयन्का ग्रुप र सीभीसी क्यापिटल्स पार्टनर इरिलिया कम्पनी लिमिटेडले लखनउ फ्रेन्चाइज र अहमदाबाद फ्रेन्चाइजको स्वामित्व लिन १.६ बिलियन अमेरिकी डलरभन्दा बढी रकम खर्च गरे।

गोयन्का ग्रुपले लखनउ फ्रेन्चाइज किन्नका लागि ७ हजार ९० करोड भारतीय रुपैयाँ खर्च गर्दा सीभीसीले अहमदाबाद फ्रेन्चाइज लिन ५ हजार ६२५ करोड भारतीय रुपैयाँ खर्चियो। यसक्रममा गोयन्का ग्रुपले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को बेस प्राइस (२ सय करोड भारतीय रुपैयाँ) भन्दा २५० प्रतिशत बढी र सीभीसीले १६० प्रतिशत बढी खर्चिएको हो। नयाँ टिम खरिदका लागि बलिउड कलाकारदेखि ठूला घरानाका २२ वटा कम्पनी रेसमा थिए।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले आईपीएलमा थप दुई टिमको आगमनले क्रिकेटको 'इकोसिस्टम'मा वित्तिय शक्ति बढ्ने बताएका छन्।

लखनउ फ्रेन्चाइज किनेका गोयन्का ग्रुपका मालिक सन्जीव गोयन्काले आईपीएलको टीममा पुन: फर्कन पाउदाँ खुशी लागेको बताए। उनले यसअघि पनि आईपीएलमा सन् २०१६ र २०१७ मा राइजिङ पुणे सुपरजायन्ट फ्रेन्चाइजी चलाएका थिए।

'यो सुरुवाती कदम हो। अब हामी राम्रो टिम बनाउने कदममा सोच्नेछौं' उनले ईएसपीएनक्रिक इन्फोसँग भनेका छन्।

अर्कोतर्फ सीभीसीले पहिलो पटक आईपीएल फ्रेन्चाइज चलाउँदै छ। यसअघि सन् २०१८ मा दिल्ली फ्रेन्चाइज लिन प्रयास गरेको भए पनि उक्त कम्पनी असफल भएको थियो। सीभीसीको अहमदावादको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम हुनेछ। जसको क्षमता १ लाख ३२ हजार दर्शक अटाउन सक्ने भएको दाबी गरिएको छ। त्यस्तै लखनउको घरेलु मैदान अटल बिहारी बाजपेयी अटाना स्टेडियम हुनेछ।

आईपीएलको आउने संस्करणमा अब १० टिमले प्रतिस्पर्धा गर्दैछन्। बीसीसीआईले रिलिज गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगितामा अब ७४ म्याचहरु हुनेछन्। हरेक टिमले ७ होम र ७ अवे म्याचहरु खेल्नेछन्। अर्थात सन् २०११ को फर्म्याटमा आईपीएल जाने देखिन्छ।

यसो हुँदा ५/५ टिमहरुको दुई समूह बन्ने र होम एण्ड अवे फर्म्याट खेल हुने देखिन्छ।

दुई टोलीको आगमनले बाँकी ८ टोलीमा पनि प्रभाव पर्ने देखिन्छ। उनीहरुले फ्रेन्चाइजी बेच्न चाहेको खण्डमा तुलनात्मक रुपमा बढी मुल्य पाउने देखिन्छ। जस्तो कि सन् २०१८ मा दिल्ली क्यापिटल्सको ५० प्रतिशत स्वामित्व जेएसडब्लुले जीएमआर ग्रुपबाट लिएको थियो। त्यतिबेला दिल्लीको मुल्य ११०० करोड भारतीय रुपैयाँ राखेर त्यसको आधामुल्य एएसडब्लुले तिरेको थियो। अर्थात दुई टिमको आगमनले बाँकी आठ टिमको मूल्य थप बढ्ने विश्लेषकहरुले बताएका छन्।

त्यस्तै, बीसीसीआईलाई ठूलो रकम बुझाउनुको अर्थ त्यो बराबरको नाफा बनाउन दुई फ्रेन्चाइजीले लामो समय लाग्न सक्छ। फ्रेन्चाइजीका लागि तीनवटा मुख्य आयश्रोत देखिन्छन्। जसमा मिडिया र सेन्ट्रल स्पोन्सरसिपबाट आउने रकम, टिम स्पोन्सरसिपबाट आउने रकम र गेट रेभेन्यु रहेका छन्।

सन् २०१७ मा स्टार इण्डियाले कीर्तिमानी मुल्यमा मिडिया राइट किनेको थियो। त्यसअनुसार हरेक फ्रेन्चाइजीले मिडिया राइटको सेन्ट्रल पुलबाट २०० करोड भारतीय रुपैयाँ कमाएका थिए। अब दुईटिमको आगमनले १० वर्षसम्म अघि बढ्दा हरेक फ्रेन्चाइजले २७५ देखि ३०० करोड भारतीय रुपैया प्रतिसिजन कमाउन सक्ने देखिन्छ। सबै फ्रेन्चाइजहरुको मुख्य आयश्रोतका रुपमा आईपीएलको सेन्ट्रल मिडिया राइटलाई लिइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell