काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई राजीनामा नदिने प्रस्ट्याएका छन्। हिजो इजलास बहिस्कार गरेका न्यायाधीशहरु आज राणालाई भेट्न पुगेका थिए। उनीहरुले राणालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका थिए।
सर्वोच्च अदालतमा केही समय अघिमात्र भएको न्यायाधीशहरुको छलफलमा राजीनामा दिने विषयमा जबराले इन्कार गरेको बैठकमा सहभागी एक न्यायाधीशले जानकारी दिए। ती न्यायाधीशका अनुसार प्रधान न्यायाधीश जबराले आफ्नो संवैधानिक दायित्व पूरा नगरी राजीनामा नदिने बताएका हुन्।
न्यायलयमा देखिएका समस्याहरु भ्रष्टाचार, विचौलिया लगायत विषयमा छलफल गर्ने भन्दै न्यायाधीशहरु जबरासँग भेटमा जुटेका थिए। जबराले गरेको फैसलाका विषय समेत राजीनामाको कारणका रुपमा लिइएको थियो। तर उनले आफ्नोमात्र नभइ अरु न्यायाधीशका फैसलामाथि पनि प्रश्न उठेको राजीनामा नगर्ने प्रष्ट्याएका थिए। विविध विषय भनिए पनि न्यायाधीशहरुले राणाले राजीनामा दिनुपर्ने सुझाव नै छलफलको केन्द्रमा थियो। उनीहरुले अदालतमा देखिएका समस्या समाधान गर्न प्रधान न्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने विषय उठाउँदै आएका थिए।
प्रधान न्यायाधीशको विरुद्ध सोमवार मात्रै सर्वोच्चका १४ जना न्यायाधीशले इजलास बहिस्कार गरेका थिए। जबराविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरु छलफलमा जुटेका थिए।
सोमवारको छलफलको निर्णय अनुसार आज बिहान प्रधान न्यायाधीशलाई भेटेर सुझाव दिने तय भएको थियो। प्रधान न्यायाधीशले राजीनामा नदिने अडान देखाएपछि न्यायाधीशहरु फेरि छुट्टै बैठकमा बसेका छन्।
सत्तारुढ दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले पनि यस विषयमा मुख खोलेका छैनन्।
