काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले 'मार्ग प्रशस्त गर्नुपर्ने' पुरानै निष्कर्षमा न्यायाधीशहरु पुगेपछि इजलास नै प्रभावित हुने गरी सर्वोच्च अदालतको नेतृत्व र न्यायाधीशहरु बिचको द्वन्द्व सुल्टिने सम्भावना क्षीण बनेको छ।
लगातार दुई प्रधान न्यायाधीश जबराले इजलास तोकेको भए पनि त्यसलाई बहिस्कार गर्दै भेलामा सहभागी भइरहेका न्यायाधीशहरुको पछिल्लो छलफल पनि सकिएको छ। भर्खरै सम्पन्न छलफलले पुरानै निष्कर्षमा रहने निर्णय गरेको हो।
आज बिहान प्रधान न्यायाधीश जबरासँग भेटेर 'मार्ग प्रशस्त'को माग गरेका थिए। 'प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने सबै न्यायाधीशले राजीनामा दिए आफू पनि दिन तयार' भएको भन्दै जबराले प्रष्ट रुपमा राजीनामा नदिने संदेश दिएपछि बैठक सकिएको थियो। भोलि फेरि भेट्ने समझदारीसहित प्रधान न्यायाधीश र न्यायाधीशहरुले बैठक टुङ्ग्याएका थिए। त्यसपछि पुन: न्यायाधीशहरु छलफलका लागि जुटेका थिए।
छलफलले पुरानै अडानलाई कायम राख्ने तय गरेपछि भोलि पनि इजलास प्रभावित हुने देखिएको छ। भोलि पनि हिजो र आजको जस्तै निरन्तरता हुने हो भने लगातार तेस्रो दिन पनि मुद्दाहरुको सुनुवाई हुने छैन।
यसबाहेक न्यायाधीशहरुको छलफलमा अरु कुनै विषयमा कुनै निर्णय भएको छैन।
पेसी तोकियो, न्यायाधीश गएनन्
प्रधान न्यायाधीश र न्यायाधीश बिच देखिएको टकराबका कारण आज दोस्रो दिन पनि सर्वोच्च अदालतको इजलास प्रभावित बनेको छ।
आज प्रधान न्यायाधीशले ८ वटा इजलास तोकेका थिए। १५ जना सर्वोच्च अदालतका न्यायाधीशलाई प्रधान न्यायाधीश जबराले इजलास निर्धारण गरेका थिए तर कुनै पनि इजलासमा सुनवाइ भएन। सोमवार पनि प्रधान न्यायाधीश राणाले ७ वटा इजलास तोकेका थिए। सोमवार र मंगलवार दुवै दिन २ सय १६ वटा पेशी सूचीकृत थिए।
आज बिहान ११ बजे प्रधान न्यायाधीश र न्यायाधीशहरु बिच बैठक थियो जसले पेसी सोझै प्रभावित बन्यो। उक्त बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शम्मशेर राणाले संवैधानिक दायित्व भएकाले आफूले राजीनामा नदिने अडान लिएका थिए। यससँगै प्रधान न्यायाधीश र न्यायाधीशहरु बिचको द्वन्द्व थप चर्किने देखिएको छ।
प्रधान न्यायाधीशको विरुद्ध सोमवारदेखि सर्वोच्चका १४ जना न्यायाधीशले इजलास बहिस्कार गरेका छन्। जबराविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरु पटकपटक छलफलमा जुटेका थिए।
