PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चिनियाँ विदेशमन्त्री र अफगान तालिवान समकक्षी बिच दोहामा भेटवार्ता, अफगान भूमि चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता



पहिलोपोस्ट

चिनियाँ विदेशमन्त्री र अफगान तालिवान समकक्षी बिच दोहामा भेटवार्ता, अफगान भूमि चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता
Photo: Dr.M.Naeem, Spokesman of the Political Office of the Islamic Emirate of Afghanistan

चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवहाक विदेशमन्त्री मौलवी अमिर खान मोत्ताकीबिच दोहामा भेट वार्ता भएको छ। मोत्ताकी नेतृत्वको अफगान तालिवान प्रतिनिधि टोलीले वाङ नेतृत्वको टोलीबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा दुबैपक्षबिच कुटनीतिक सम्बन्ध, द्विपक्षीय व्यापार, अफगानिस्तानका लागि चिनियाँ मानविय सहयोग तथा चीनमा अफगानी विद्यार्थीहरुका लागि उच्च शिक्षाको व्यवस्थाका सम्बन्धमा छलफल भएको अफगानिस्तानको तालिवान नेतृत्वको सरकारका प्रवक्ताले जनाएका छन्

भेटवार्ताका क्रममा अफगान मन्त्रीले चीनको वृहत् सहयोगका लागि धन्यवाद दिँदै अफगान भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

साथै मन्त्री मोत्ताकीले अफगान साझेदारी तथा समझदारीमा आधारित सन्तुलित परराष्ट्र नीति अंगिकार गर्ने प्रतिवद्धतासमेत ब्यक्त गरेका छन्।

‘चीनले हाम्रो परराष्ट्र नीतिमा महत्त्वपूर्ण स्थान लिएको छ। साथै चीन यस क्षेत्रको महत्त्पूर्ण राष्ट्र हो,’ उनले भनेका छन्। अफगानिस्तानको स्थायित्वबाट अफगानिस्तान मात्र नभई चीन तथा यस क्षेत्रकै नै फाइदा हुने उनले बताएका छन्।

अफगान पक्षले भेटवार्ताका क्रममा कुटनीतिक सम्बन्ध विस्तारको महत्त्वमाथि प्रकाश पार्दै चीनसँगको व्यापार सुधारको लागि पहल गरेको अफगानी सरकारी सञ्चार माध्यमले जनाएको छ।

मन्त्री मोत्ताकीले चिनियाँ पक्षलाई अफगान व्यापारिका समस्स समाधान गर्न आग्रह गरेका थिए। साथै अफगानिस्तानका उत्पादनको आयातमा सहयोग गर्नसमेत सो टोलीले अनुरोध गरेको छ। दुई देशबीच प्रत्यक्ष व्यापारको सम्भावनाको विषयमासमेत छलफल भएको बताइएको छ।

अफगानिस्तानको टोलीले चीनले अफगान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएकोमा आभार व्यक्त गर्दै थप अवसर प्रदान गर्न आग्रह गरेको समाचारमा उल्लेख छ।

भेटवार्ताका क्रममा चिनियाँ मन्त्री तथा स्टेट काउन्सिलर वाङले अफगानिस्तानमा पछिल्लो समय भइरहेको सकरात्मक परिवर्तनलाई स्वागत गर्दै दुई देशबीच आगामी दिनमा साझा स्वार्थका विषयमा केन्द्रीत रहेर मिलेर काम गर्न चाहेको बताए। साथै उनले अफगानिस्तानको सुरक्षा, स्वतन्त्रता र भौगोलिक अखण्ताको चीनले सँधै सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरे।

साथै चिनियाँ पक्षले भेटवार्तामा अफगानिस्तानको विकासको नयाँ गतिमा चीनले सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ। ‘चीनले अफगानिस्तानको पुन:निर्माणमा निरन्तर साथ दिनेछ,’ चिनियाँ विदेशमन्त्री वाङलाई उदृत गर्दै अफगानिस्तानको तालिवान निकट न्युज एजेन्सीले भनेको छ, ‘विदेशमन्त्री वाङले अफगानिस्तानलाई आवश्यक आपतकालिन मानवीय सहायता निरन्तर प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्।’

‘चीन भविष्यमा साझा रुचीका विषयमा विकास सहकार्य गर्न चाहन्छ,’ यीले भनेका छन्, ‘अफगानिस्तानको आन्तरिक मामिलामा चीनले कुनै हस्तक्षेप गर्ने छैन।’

भेटवार्ताका क्रममा दुबै पक्ष दुई देशबीच विकास साझेदारीका साथै अन्य क्षेत्रमा सहकार्य गर्नका लागि संयुक्त संयन्त्र स्थापना गर्न सहमत भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell