PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

पोखराको ल्याण्डफिल साइट पस्मराङमा सार्ने निर्णयको स्थानीयद्वारा विरोध, छलफलबिना निर्णय भएको वडाध्यक्षको आरोप



रिना थापा

पोखराको ल्याण्डफिल साइट पस्मराङमा सार्ने निर्णयको स्थानीयद्वारा विरोध, छलफलबिना निर्णय भएको वडाध्यक्षको आरोप
फोटोहरु : श्याम मगर

पोखरा : निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान शुरु गर्ने तयारी छ। यही पुस १७ गते आन्तरिक र २०७९ बैशाख १ गते अन्तर्राष्ट्रिय उडान गर्ने तयारी चलिरहेको हो। विमानस्थल सञ्चालनमा आउने मिति नजिकिँदै गर्दा निर्माणाधिन विमानस्थलमा आएको समस्या समाधान भने अझै हुन सकेको छैन।

रिठ्ठेपानी डाँडा कटान, विमानस्थलको दक्षिणपट्टी बाढी कटान र ल्यान्डफिल साइट निर्माणाधिन विमानस्थलको लागि समस्या र चुनौती हो। विमानस्थलको समस्यामध्ये एक हो ल्यान्डफिल साइट।

विमानस्थलको नजिकै पर्छ ल्याण्डफिल साइट। उक्त साइटले विमानस्थल सञ्चालनमा समस्या निम्त्याउने देखिएपछि पोखराको ल्याण्डफिल साइट सार्ने गृहकार्य शुरु भएको थियो।

पोखरा महानगरपालिकाले ल्याण्डफिल साइटको टुंगो लगाएको छ। तर, उक्त निर्णयमा स्थानीयवासीदेखि महानगरका प्रतिनिधिकै विरोध छ। महानगरले अध्ययन, सल्लाह र सहकार्य बिना एकलौटी ढंगमा साइटको टुंगो लगाएको उनीहरुको आरोप छ।

अहिलेको ल्याण्डफिल साइट पोखरा महानगरपालिका वडा नम्बर १४ मा पर्छ। पोखराको कार्यपालिका बैठकले हालको ल्याण्डफिल साइट सारेर वडा नम्बर १६ र २० को सीमाना पस्मराङमा बनाउने निर्णय गरेको हो।

उक्त निर्णयमा स्थानीयले विरोधमा जनाएका हुन्। स्थानीयवासी उक्त निर्णयको विरोध गर्दै संघर्ष समिति नै गठन गर्ने तयारीमा छन्। उनीहरुको एकै स्वर छ, ‘कुनै पनि हालतमा पस्मराङमा ल्याण्डफिल साइट ल्याउन नदिने।’

स्थानीयले विरोध मात्र नभई कारण पनि देखाएका छन्। विरोध गर्नुको कारण तोकिएको ल्याण्डफिल साइटमा खानेपानीको मुहान हुनु हो।

काहुँ तथा काली खोलाको मुहान क्षेत्र रहेको उक्त स्थानको पानी पोखरा वडा नम्बर १३, १६, २० र ११ का गरी ५ सय बढी घरधुरिले पिउँछन्। स्थानीयले उक्त मुहानको पानी खानेपानीसहित सिँचाइका लागि पनि प्रयोग गर्दै आएका छन्।

भलाम, र्‍यालेचोर, काहुँ लगायतका बासिन्दाले उक्त मुहानको पानीलाई सिँचाइको लागि समेत प्रयोग गर्दै आएका हुन्। पानीको स्रोत मासेर पस्मराङमा फोहोर फाल्न दिन नहुने उनीहरुको भनाइ छ। छलफल र सहमति बिनानै महानगरले एकलौटी निर्णय गरेको उनीहरुको आरोप छ।

‘स्थानीयको समस्या नबुझी छलफल सहमति नगरी निर्णय भयो, मुहान दूषित पार्ने काममा कसरी सहमति गर्ने?,’ स्थानीयको प्रश्न छ।

स्थानीयले विरोध गर्नुको अर्को कारण छ, महानगरको अव्यवस्थित काम। केही वर्ष अगाडि महानगरले छाडा पशुचौपाया व्यवस्थापनका लागि पस्मराङ क्षेत्र रोजेको थियो।

महानगरले व्यवस्थित रुपमा पशुचौपाया राछौँ भनी आश्वासन दिएको थियो। तर, महानगरले स्थानीयलाई दिएको आश्वासन बमोजिम व्यवस्थित रुपमा काम गर्न सकेन।

पछि स्थानीयको विरोधपछि छाडा चौपायाको व्यवस्थापन वडा नम्बर १४ मै सारियो। अघिल्लो पटकको महानगरको अव्यवस्थित कार्य देखेर स्थानीयले शंका व्यक्त गरेका छन्।

महानगरको सो निर्णयमा स्थानीय मात्र नभइ वडाध्यक्षले समेत विरोध जनाएका छन्। पोखरा वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ स्थानीयसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताउँछन्।

‘स्थानीयसँग छलफल बिना निर्णय भयो, थाहै नदिई स्थान तोकियो’, उनले भने, ‘छलफल गरेर स्थानीयको मर्म बुझेर चित्त बुझाए अगाडि बढ्नपर्‍यो।’

स्थानीय र वडाध्यक्षले विरोध गरिरहँदा महानगरले विरोधका बारे अब छलफल गर्ने बताएको छ। पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेल यस विषयमा अब छलफल गर्ने बताउँछन्।

‘भर्खर मात्र ल्याण्डफिल साइट कहाँ बनाउने निर्णय भएको छ, विरोधका बारेमा पछि छलफल हुँदै जाला,’ उनले भने।

कार्यपालिका बैठकले नयाँ ल्याण्डफिल साइट तोकेपछि सरोकारवाला र स्थानीयसँग छलफल र सहजीकरण समिति बनाएको छ। पोखरा-१९ का वडाध्यक्ष शोभामोहन काफ्लेको संयोजकत्वमा बनेको ६ सदस्यीय सहजीकरण समितिले स्थानीय र सरोकारवाला निकायसँग छलफल गरेर अघि बढ्ने महानगरले जनाएको छ।

वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा गठन भएको समितिको सिफारिसमा पस्मराङमा सिफारिस भएको थियो। ल्याण्डफिल साइटका लागि आवश्यक पर्ने २ सय ५० रोपनी जग्गामध्ये पस्मराङमा ७० रोपनी जग्गा सरकारको नाममा छ।

आवश्यक बाँकी जग्गा निजी व्यक्तिको नाममा छ। निजी जग्गालाई मुआब्जा महानगरले नै व्यहोर्ने निर्णय पनि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell