PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

यातायात व्यवस्था कार्यालय वीरगंजबाट ट्रायलपास गरेकै दिन परीक्षणकालीन लाइसेन्स पाइने



राधेश्याम पटेल

यातायात व्यवस्था कार्यालय वीरगंजबाट ट्रायलपास गरेकै दिन परीक्षणकालीन लाइसेन्स पाइने

वीरगंज : प्रदेश २ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगंजले परीक्षणकालिन चालक अनुमति पत्र वितरण कार्य शुरु गरेको छ। गत असोज १० देखि चालक अनुमति पत्रको सबै परीक्षा पास गरेका आवेदकहरुलाई रसिद काटेको केही मिनेटमै परीक्षणकालिन चालक अनुमति पत्र  वितरण गरिरहेको कार्यालय प्रमुख सुशिल कुमार साहले जानकारी गराए।

हालसम्म २४० जनालाई कार्यालयबाटै एक वर्ष म्याद रहने परीक्षणकालिन अनुमति पत्र वितरण गरिसकेको र बाँकी उत्तिर्ण आवेदकलाई लाइसेन्स वितरण गर्ने कार्य भइरहेको बताए। यसअघि ट्रायल पास गरेका, प्रतिलिपी लिन खोजेका वा नविकरण गराउने सेवाग्राहीले एक वर्षसम्म लाइसेन्स नपाउने समस्या हल गर्न नेपाल सरकारले यस्तो प्रणाली लागू गरेको छ।

अहिले काठमाडौंमा २, ललितपुरमा १ , भक्तपुरमा १ कार्यालय गरी राजधानीमा ४ कार्यालयबाट, प्रदेश १ को इटहरी र विर्तामोड, प्रदेश २ को लहान, जनकपुर, वर्दिवास र वीरगंज, वाग्मतीको बाग्लुङ, पोखरा र कावासोती, लुम्बिनीको बुटवल र नेपालगंज तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको यातायात कार्यालयहरुबाट प्रिन्टर राखेर परीक्षणकालिन चालक अनुमति पत्र प्रिन्ट गरी दिइने गरिएको जनाइएको छ। कोरोना महामारीको कारण विगत दुई वर्षदेखि चालक अनुमति पत्र पाउने सेवा प्रभावित थियो।

यातायात व्यवस्था कार्यालय वीरगंजले हालसम्म यातायात व्यवस्था विभागलाई १ लाख ८० हजार ९६३ जनाको लाइसेन्स प्रिन्ट गर्न अनुरोध गरेकोमा हाल सम्म ४९ हजार १७३ जनाको लाइसेन्स प्रिन्ट गर्न बाँकी छ। प्रिन्ट भएकोमध्ये पनि करिब १५ हजार लाइसेन्स कार्यालयले बाँडिरहेको बुझिएको छ।

लामो समयसम्म लाइसेन्स प्रिन्ट नहुदा लाइसेन्स पास गरेर पनि पटकपटक कार्यालयमा धाइराख्ने समस्या यथावत रहेको छ। लाइसेन्स नहुँदा बाटोमा ट्राफिक प्रहरीले दु:ख दिने गरेको र नजराना माग्ने गरेको सेवाग्राहीको गनासो बढ्दै गएपछि यातायात व्यवस्था विभागले परीक्षणकालिन चालक अनुमति पत्रको अवधारणा ल्याएको हो।

६ महिनापछि खुल्यो लाइसेन्स प्रकृया, ट्रायल आउन ६ महिना लाग्ने

यातायात व्यवस्था विभागले कात्तिक ८ गते रातिदेखि अनलाइन लाइसेन्स भर्ने प्रकृया शुरु गरेको छ। कोरोना महामारी कम भएपछि विभागले प्रकृया शुरु गरेको हो।

विभागको साइटमा गएर नयाँ वा थप वर्ग, कुन कार्यालयबाट लाइसेन्स आवेदन गरिएको तथा आफनो व्यक्तिगत विवरण र कागजात सबमिट गरेपछि सम्पर्क मितिसहितको जानकारी पत्र पाइन्छ। सोही अनुसार सम्बन्धित कार्यालयमा उक्त मितिमा गएपछि बायोमेट्रिक, स्वास्थ्य परीक्षणपछि लिखित र ट्रायल परीक्षा हुने व्यवस्था छ।

ट्रायल परीक्षा पास गरेर वर्ग अनुसारको रसिद काटेपछि सोही दिन परीक्षणकालिन र एक वर्षपछि वास्तविक लाइसेन्स वितरण गर्ने विभागको लक्ष्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell