PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आफैं बिग्रने बाटोमा नलाग्न देउवालाई जगन्नाथ खतिवडाको चेतावनी : एमाले नछाडेका १० भाइमाथि आरोप, 'दास बुँदा पेश गरी ओलीको पैतालामुनि बसे'(वार्ता)



प्रकाश भण्डारी

आफैं बिग्रने बाटोमा नलाग्न देउवालाई जगन्नाथ खतिवडाको चेतावनी : एमाले नछाडेका १० भाइमाथि आरोप, 'दास बुँदा पेश गरी ओलीको पैतालामुनि बसे'(वार्ता)

काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रदेश नम्बर एक र वाग्मती प्रदेशमा सरकारको नेतृत्व दाबी गरिरहेको छ। तर, केन्द्रमा सत्ता गठबन्धनले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने भन्दै गरेको सहमति दुबै प्रदेशमा लागू हुने छाँट छैन। मन्त्रिपरिषद बिस्तारको बेला मन्त्रालय र भागण्डामा असन्तुष्टि जनाएको एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर गठबन्धनले मनाएको थियो। सत्ता गठबन्धनका आडमा आउने चुनावका लागि आफ्ना गतिविधिलाई केन्द्रित गरिरहेको एकीकृत समाजवादीले सम्मानजनक मत पाउने दाबी गरिरहेको छ। विधि विधानको विषय उठाएर एमालेबाट अलग्गिएको एकीकृत समाजवादी पनि विधि पद्धतिबारे मौन रहन थालेको भन्दै आलोचना भइरहेको छ। अरु पार्टीहरुजस्तै सर्वोच्च अदालतको विवादबारे मौन छ भने प्रदेश र केन्द्र सरकार बिस्तारका बेला भइरहेका चलखेलबारे कतिपय अवस्थामा आफै सहभागी हुन थालेको छ भने बाँकीमा मौन। जल्दाबल्दा विषयमा एकीकृत समाजवादी किन मौन छ? यिनै विषयमा उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडासँग पहिलोपोस्टका प्रकाश भण्डारीले गरेको कुराकानी :

एकीकृत समाजवादी अहिले के कस्ता गतिविधिमा केन्द्रित छ?

हामीले ७४ जिल्लामा कमिटी बनाइसकेका छौँ। चारवटा गैर भौगोलिक जिल्लाहरु हुन्छन् त्यसमा पनि कमिटी बनाइसकेका छौँ। संगठन बिस्तार गर्ने क्रममा कमिटीहरुलाई पूर्णता दिने काम बाँकी छ। हामीले असोजमा बसेको केन्द्रीय कमिटीको बैठकबाट ३ महिने कार्ययोजना पारित गरेका छौं। यो अवधिमा हामी धेरै ठूलो उपलब्धि हासिल गर्ने छौं। लाखौँ सदस्यहरु बनाउने छौं। त्यसका लागि लागिरहेका छौं।

प्रधानन्यायाधीश विवादबारे पार्टी मौन छ, किन?

सर्वोच्च अदालत स्वतन्त्र अंग हो। उसको स्वतन्त्रताको रक्षा हामीले गर्नुपर्छ। न्यायपालिकाभित्र न्यायिक विवेक मर्दै गयो न्यायिक विचलन हुदै गयो भनेर न्यायकर्मीले व्यापक आवाज उठाइरहेका बेलामा हामी राजनीतिकर्मीहरुले यसका पक्षविपक्षमा बोल्न जरुरी नहुने न्यायपालिकामा भइरहेको बहसलाई पर्खेर हेर्नुपर्ने स्थिति छ। त्यसैले यसबारेमा हामीले कुनै प्रतिक्रिया दिन नचाहेका हौ। समस्या चिनिएको छैन भन्ने होइन। समस्या देखिएको र भोगिएको छ यो कुराप्रति पनि हाम्रो आफ्नो धारणा बनिरहेकै छ। केही आधार, केही प्रमाण र केही सत्यतथ्यको खोजी र विश्लेषण पनि भइरहेकै छ।

१० बुँदे सहमतिलाई नमानेर एमाले विभाजन गर्नुभयो। तपाइहरुसँग रहेका कतिपय नेताहरु अहिले पनि एमालेमै हुनुहुन्छ। उहाँहरु फेरि पनि १० बुँदे कार्यान्यनको माग गरिरहनु भएको छ। यसबारेमा तपाइको धारणा के छ?

वास्तवमा त्यो दश बुँदे थिएन त्यो दास बुँदे थियो। केपी ओलीको पैतालामुनि जो बस्यो, उहाँको स्वेच्छाचारि निर्णयको समर्थन गर्‍यो। यो पार्टी फुटाउन हुदैन भन्ने कारणले होस्, म चुनाव जित्दिनँ भन्ने नाममा होस अथवा सूर्य चिन्ह देखाएर होस् मानिस जसरी बसेको भएतापनि उसले आफ्नो स्वाभिमान गुमाएको छ। राजनीतिक दृष्टिकोण गुमाएको छ। हिजोसम्म उसले बोलेका सबैकुराहरु परित्याग गरेको छ र उ त्यहाँ बसेको छ। स्वतन्त्र भएर बस्न स्वभिमानका साथ बाचौँ भन्ने हाम्रो कुरा थियो। तर हाम्रा केही मित्र १० बुँदेका नाममा दासबुँदेलाई स्वागत गर्न पुग्नुभयो। हामीले समर्थन गर्न सकेनौं।

माधव नेपाललाई छोडेर एमालेमै अड्किएका नेताहरु फेरि फर्केर आउछन् कि भन्ने चर्चा भइरहेको छ। फर्कनुहुन्छ उहाँहरु?

हाम्रो एकजना नेता हुनुहुन्थ्यो, उहाँ डिएनएको कुरा गर्नुहुन्थ्यो केपी ओली र उहाँहरु कसैको डिएनए मिल्दैन। केही मानिसहरु आत्मसमर्पण गरेर बस्नुहोला। उहाँहरुसँग संवाद पनि भइरहेकै छ। उहाँहरु त्यसभित्र पीडित हुनुहुन्छ। कुण्ठित हुनुहुन्छ। आत्मासम्मान समाप्त भएको जिन्दगी बाँचिरहनुभएको छ। उहाँहरु मात्रै होइन जो कमरेड केपी ओलीको नेतृत्वमा हिडेको कार्यकर्ता भन्नुहुन्छ नि। जसले बा भनिरहनुभएको छ नि। जसले 'आइ लभ यु केपी ओली' भनिरहनुभएको छ नि। हो उहाँहरु पनि आफ्नो आत्मसम्मान गुमेकोमा बढो चिन्तित हुनुहुन्छ। तर, बाध्यताबस हामी बा को पक्षमा छौँ भन्नुहुन्छ। किन भन्नुहुन्छ त्यो चाही थाहा छैन।

त्यसोभए १० बुँदे कार्यान्वयनको लागि ओलीलाई दबाव दिइरहेका नेताहरु तपाइको पार्टीमा आउँछन्?

एमालेमा रहेका सबै न्यायप्रेमीहरु कुनै न कुनै दिन हामीकहाँ आउनुहुन्छ। १० जनाको त म चर्चा गर्न चाहन्नँ।  उहाँहरु डराउनुभएको हो। धोका दिनुभएको हो। आफ्नो विचारलाई कतै बन्धकी राख्नुभएको हो। उहाँले एक प्रकारले राजनीतिक चेतनाका हिसाबले आत्मसमर्पण गर्नुभएको हो। उहाँहरु आउनुभो भने स्वागत छ। आफ्ना गल्तीलाई सच्याउने कोसिस गर्नुभो भने उहाँहरुलाई स्वागत छ। तर त्यो भन्दा बढी एमालेभित्र भ्रमबस बसिरहेका राजनीतिक क्रियाकलापमा लागिरहेका नेता कार्यकर्ताहरु त्यो भ्रमबाट चाँडै मुक्त हुनुहुनेछ।

एमालेमा १० औँ राष्ट्रिय महाधिवेशनको तयारी चलिरहेको छ। विधान महाधिवेशनमार्फत तपाइहरुलाई त विभिन्न आरोप लागेका छन् तर तपाइहरु चाहि चुपचाप हुनुहुन्छ नि?

केपी ओलीले गरेको गाली र आलोचनाको खण्डन गरेर हिँड्ने हो भने हाम्रो सम्पूर्ण समय त्यसमा जान्छ। त्यो उहाँको स्वभाव हो, उहाँको प्रवृति हो। उहाँको त्यो चरित्रचित्रण हो। त्यसले उहाँको चरित्रको चित्रण गर्छ। त्यसकारण त्यसका पछाडि हामी लाग्दैनौँ। हामी हाम्रो काममा लागिरहन्छौँ। कुनै महत्वपूर्ण विषय आएछ भने खण्डन गरौँला। ओलीले जतिवटा व्यङ्ग्य गर्नुहुन्छ त्यसको उत्तर दिन उपयुक्त ठान्दैनौँ। यसले केपी ओली र उहाँको प्रवृति र स्वभाव राजनीति र दुनियाँको सामु छर्लङ्ग भएको छ। दुनियाँले यो चिन्नु नै सबैभन्दा राम्रो कुरा हो।

तपाइँहरुको पार्टीलाई ओलीले निर्वाचनसम्म एउटा गुट भनिरहनुभएको छ। तपाइँहरुलाई देखाएर ओलीले सर्वदलीय बैठक बहिष्कार गर्नुभयो। अनि तपाइहरुको दाबी हामीले ठुलो कम्युनिस्ट पार्टी बनाएयौं भन्ने छ। गुट हो कि पार्टी हो?

संविधानले मान्यो। निर्वाचन आयोगले मान्यो। कानुनले मान्यो। तर केपी ओलीले मान्नु भएन। यसमा हामीलाई केही फरक पर्दैन। उहाँको बुद्धिको लघुताभास मात्रै हो। आत्मसंकुचन मात्रै हो।  कानुनलाई मान्दिनँ भन्ने कुण्ठा मात्रै हो। अरु केही पनि होइन। मान्नु हुन्न भने मान्नु हुन्न, आउनु हुन्न भने आउनु हुन्न। मान्नुहुन्छ भने आउनुस सँगै बसेर सहकार्य गरौँ। उहाँले निषेध गरेर हामी निषेध हुन्नौँ। राजनीतिमा निषेध गर्ने कोसिस नगर्नुहोस। जति तपाइले निषेध गर्न खोज्नहुन्छ त्यति यो बढी हुन्छ।

माधव नेपालले पार्टी विभाजन गरिसकेपछि एमाले अहिले एक ढिक्का छ भनेर केपी ओलीले भनिरहनुभएको छ नि!

एमालेलाइ एक ढिक्का बनाउँछु भन्ने नाममा उहाँले पार्टी होइन केपी ओलीको सत्ता चलाउन खोजिरहनुभएको छ। कम्युनिष्ट पार्टी चलाउन होइन। नेता प्रधान पार्टी चलाउन खोजिरहनुभएको छ नीति प्रधान होइन। उहाँ कमरेड पुष्पलालका नीतिहरुको अनुसरण गरिहनुभएको छैन। बेल्कुल केपी ओलीको स्वेच्छाचारिता लाद्न खोजिरहनुभएको छ। भविश्यमा कम्युनिस्ट पार्टी बन्नेवाला छैन।

सत्तातिरको कुरा, वाग्मती र प्रदेश नम्बर १ को नेतृत्व एकीकृत समाजवादीलाई दिने भन्ने सहमति भएको थियो। तर कार्यान्वन कहिले हुने हो?

यो गठबन्धनको सदस्यका हिसाबले नेपाली कांग्रेस र सत्ता पक्षको प्रवृतिसँग बढो आश्चर्य मानेर विश्लेषण गरिरहेका छौँ। एउटा सहमति भइसकेपछि सहमति पालना गराउन सबैलाई निर्देश गराउने र सहमति पालन गराउने कुरा नेतृत्वको आदेशसँग जोडिएको हुन्छ। नेपाली कांग्रेसले आदेश दियो दिएन थाहा छैन। व्यवहारमा दिएको देखिदैन। नेपाली कांग्रेसले आफूलाई सहमतिमा, गठबन्धनमा इमान्दारिता प्रस्तुत गर्न सक्नुपर्छ। प्रधानमन्त्री बन्नुमात्रै ठुलो कुरा होइन। ठुलो कुरा सरकारको पर्फमेन्समा ध्यान दिनु। पर्फमेन्स छैन भने प्रधानमन्त्री बन्नु भनेको प्रधानमन्त्रीको सूचीमा एकपटक थप नाम लेखाउनु मात्रै हो। त्यसैले मलाई नेपाली कांग्रेसको नेता कार्यकर्तालाई देखाएको तरिकाप्रति बढो आश्चर्य लागेको छ। कृपया इमान्दार हुनुस्। पार्टीको गरेको निर्णयलाई पालना गर्नुस्। नेतृत्वलाई उचाल्ने काम बन्द गर्नुस्। कार्यकर्ताले पनि गठबन्धनको भावनालाई जोगाउन काम गर्नुस्। यो गठबन्धन संविधान जोगाउन/संसद जोगाउन गरेको गठबन्धन गरेको हो। देउवालाई प्रधानमन्त्री र हामी सरकारमा जानमात्र गठबन्धन गरेको होइन। गठबन्धनलाई जोगाएर उहाँहरु हिडनुपर्छ। यदाकदा समस्या आएका छन्।  समाधान  गर्न कांग्रेस नेतृत्व सफल हुन्छ भन्ने हामीलाई लागेको छ। हामी व्यवहारमा राम्रो देखिरहेका छैनौं। आफै बिग्रने बाटोमा हामी कोही पनि नलागौँ।

सरकारको पर्फमेन्सको कुरा गर्नुभयो, एकीकृतकै पनि मन्त्री छन् उहाँहरुको कामबारे पनि पार्टीलाई पक्कै जानकारी होला। कस्तो छ पर्फमेन्स?

जुन मन्त्रालय प्राप्त गरेका छौं त्यसमा गरिने काम प्रभावकारी हुनुपर्छ। हामीले के गर्न खोजिरहेका छौँ त्यो प्रष्ट हुनुपर्‍यो। समग्रतामा जनताको पक्षमा काम गर्नुपर्‍यो। सुशासन र जनसेवा ठुलो कुरा हो। हाम्रा मन्त्रीहरुको र पार्टीको परीक्षा यसैमा छ।

वाग्मतीमा त केन्द्रमा गठबन्धनमा भएको सहमति विपरित आलोपालोको सहमति भएको छ नि?

आलोपालोको सहमति भएको छैन। त्यो सत्य होइन। कसैले कुरा गरेको, कसैले चर्चा गरेको एउटा पक्ष हो। तर यो कुनै सहमति भएको कुरा होइन। हामीले प्राप्त गर्ने अवसरको कुरा हो। यहाँ आलोपालो गरिन्छ भने सबैठाउँमा आलोपालो हुन सक्छ। यो दुई ठाउँमा मात्रै  आलोपालो हुदैन। ७ वटै प्रदेशमा आलोपालो गर्ने नियम बन्यो भने त्यस्तो होला। नभएदेखि एक नम्बर र वाग्मतीमा मात्रै आलोपालोको सिद्धान्त लागू हुदैन भन्ने कुरा हामीले राम्ररी बुझ्नुपर्छ।

सरकार गठनका बेला साझा न्युनतम कार्यक्रम बनाएको थियो गठबन्धनले। त्यो अनुसार काम भइरहेको छ त?

भइरहेकै चिजमा उहाँहरुले केही कुरा लेख्नुभएको हो। बजेट पारितको कुरालाई लेख्नुभएको छ। अब धेरै अनौठो नयाँ कुरा पनि होइन। जहाँ तपाइ उभिनुभएको छ त्यो दिनदेखि तपाइ राम्रो काम मात्रै गर्न सक्नुहुन्छ कि सक्नुहुन्न। प्रत्येक व्यक्तिले एक कदम अगाडि बढ्दा राम्रो अनुभव हुनेगरी काम गर्नु भएको छ कि छैन त्यससँग यो विषय जोडिएको छ। 

अर्ली इलेक्सनको पनि चर्चा भइरहेको छ। तपाइँहरुले पार्टी फुटाएर भए पनि प्रतिनिधि सभा जोगाउने निर्णय गर्नुभएको थियो। अब देश अर्ली इलेक्सनमा जान लागेको हो?

कुन मानिसले कुनकुन ढंगले शब्दहरुको प्रयोग गर्छन् मलाई थाहा छैन्। स्थानीय निर्वाचनका लागि अर्ली इलेक्सनको जरुरी नै भएन। आम निर्वाचनका लागि अर्ली इलेक्सन भनिएको होला पहिला स्थानीय चुनावको कुरा गरौँ। बाँकी कुरा पछि गरौँला।

गठबन्धन अब चुनावसम्मै टिक्ला त?

साझा सहमतिमा अगाडी बढौँ भन्ने हाम्रो प्रयास हो। कसैले यसभित्र छुट्टै प्रकारको सोच बनाउँछ। एक्लै हुँदा उपलब्धि हासिल गर्छु भन्छ भने भोलि के गर्छ भन्ने थाहा छैन। तर आजसम्म गठबन्धन तोडेर अन्त जाऔँ भनेको छैन।

चुनाव आउन धेरै समय छैन। एकीकृतको अवस्था चुनावमा के हुन्छ? पार्टीको विश्लेषण के छ?

हाम्रो पार्टी नयाँ हो तर व्यक्ति, इतिहास र अनुभव नयाँ होइन। जनतासँगको इतिहास पनि नयाँ होइन। जनतालाई हामीले सेवा गरेको इतिहास पनि नयाँ होइन।  जवादेहिता हामीले लामो समयदेखि देखाउँदै आएका छौ। चुनावमा हामीले सम्मानजनक अवस्था हासिल गर्ने छौँ।  जनताको विश्वास प्राप्त गर्ने छौँ। प्रतिस्पर्धा हो कही हारौँला कही जितौँला तर बढो सम्मानजनक पोजिसन हाम्रो पार्टीले हासिल गर्ने छ।

वामदेव गौतमले एकीकृत समाजवादी पार्टी नबन्नुभन्दा पहिला नै 'माधव नेपालले नयाँ पार्टी बनाए साथ दिन्छु' भनेर घोषणा गर्नुभएको थियो। अहिले तपाइको पार्टीमा आउनुभएन। एमालेबाट पनि राजिनामा गरिसक्नुभएको छ। के अब उहाँ एकीकृत समाजवादीमा आउने तयारी भइरहेको हो?

आज स्वतन्त्र वामपन्थी नेताको छवि बनाउनुभएको छ। उहाँ वरिष्ठ वामपन्थी नेता हो। उहाँले हामीलाई धेरै राम्रो चिन्नुभएको छ र हामीले पनि उहाँलाई धेरै राम्ररी चिनेका छौँ। आज के गरिरहनुभएको छ त्यो त उहाँलाई नै थाहा होला तर, ढिलो चाँडो एक इमान्दार सच्चा कम्युनिस्ट बनिरहने उहाँको इरादालाई पुरा गर्न उहाँले एकीकृत समाजवादीमा नै आउनुपर्छ भन्छु म।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell