PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहलाई हटाउन गृहको कसरत, रातारात किन रोकियो सरुवा प्रकृया?



पहिलोपोस्ट

काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहलाई हटाउन गृहको कसरत, रातारात किन रोकियो सरुवा प्रकृया?

काठमाडौं : काठमाडौं प्रहरी प्रमुख (एसएसपी) सरुवा अन्योलमा परेको छ। गृह मन्त्रालयले मंगलवार नै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपीको काज सरुवा गरेको थियो। एसएसपी अशोक सिंहलाई काठमाडौंबाट हटाएर एसएसपी सुदीप गिरीलाई काजमा ल्याउने तय भएको थियो। तर, रातारात एसएसपीको सरुवा रोकिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

'हिजो गृहबाट सरुवा गर्नु भन्ने थियो। तर, आज केही समयलाई यथावत राख्नुपर्ने निर्दैशन भएको छ,' एक उच्च प्रहरी अधिकृतले भने।

एसएसपी सिंहको ठाउँमा केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका एसएसपी सुदीप गिरीलाई सरुवा गरिएको थियो। त्यस्तै, एसएसपी अशोक सिंहलाई भैरहवा विमानस्थलामा सरुवा गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। एसएसपी सिंहले काठमाडौं प्रहरी परिसरको जिम्मेवारी सहाल्न थालेको मंसिरको पहिलो साता एक वर्ष पुग्दै छ।

प्रहरी नियमावली अनुसार सामान्यता कुनै पनि कारबाहीमा नपरेको खण्डमा एक वर्षसम्म सरुवा गर्ने गरिँदैन। तर, एक वर्ष पनि नपुग्दै र एक जनामात्र एसएसपीको काज सरुवाले प्रहरी प्रधान कार्यालयमाथि गृह मन्त्रालको नेतृत्व हाबी भएको प्रहरीभित्र चर्चा चलेको छ।

प्रहरी अधिकृतहरुको एक पटक भए पनि काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने महत्वकांक्षा हुन्छ। चुनौती र अवसर दुवैको हिसाबले काठमाडौंलाई लिने गरिन्छ। त्यसैले गृहमन्त्री र आइजी फेरिएसँगै काठमाडौंका प्रहरी प्रमुखको विषयमा विवाद देखिने गरेको छ। गृहमन्त्री र आइजीले पनि आफू अनुकूलको प्रहरी प्रमुख बनाउने गरेको देखिन्छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले आफूलाई सरुवाको विषयमा कुनै पनि जानकारी नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell