PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

मुख्यमन्त्रीबाट शाक्यको 'वाकओभर' : मैले छाडिसकें, अब दोस्रो कार्यसूचीमा किन जानुपर्‍यो?



पहिलोपोस्ट

मुख्यमन्त्रीबाट शाक्यको 'वाकओभर' : मैले छाडिसकें, अब दोस्रो कार्यसूचीमा किन जानुपर्‍यो?

हेटौँडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। 

प्रदेशसभाको आजको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेकी हुन्। शाक्यले गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएकी थिइन्। सँगै उनले राजिनामा दिने घोषणा गरिन्। 

एमालेले अल्पमतकै भए पनि सरकार चलाएको भन्दै विपक्षीको सहयोगप्रति उनले आभार व्यक्त गरिन्। 'छोटै समय भए पनि उपलब्धि मुलक नै भन्छु म काम भएका छन्,' उनले भनिन्। 
 
प्रदेशसभाको बैठकमा उनले आगामी दिनमा प्रदेशसभाको प्रतिपक्षी दलको रुपमा रहनेसमेत बताइन्। 

'मैले कार्यसूची हेरें। दोस्रो कार्यसूची नै रहेछ। दोस्रो कार्यसूचीमा हामी किन जानुपर्ने?,' उनले भनिन्, 'मिलेर किन नजाने? संविधानको धारा ६९ उपधार १ क को व्यवस्था अन्तर्गत म आज मुख्यमन्त्रीको नाताले मार्ग प्रशस्त गरेको छु। यति भनेपछि दोस्रो कार्यसूचीमा जान आवश्यक छैन।'

उनले सहमति सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्दै थपिन्, 'यही बाटोबाट जान ठिक हुन्छ भनेर मैले यही ढंगले मार्ग प्रसस्त गरेको छु।' 

प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ। सभामा सम्बोधान पछि शाक्य राजिनामा बुझाउन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष जाँदैछिन। आज बसेको बैठकमा प्रदेशसभामा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यतालिका थियो।
 
विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ। वाग्मतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ।

१ सय ९ सांसद रहेको वाग्मती प्रदेशसभामा एमाले विभाजन भएपछि सत्तारुढ दल एमालेसँग ४३ सांसद छन्। शाक्यविरुद्धको गठबन्धनसँग नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता समाजवादीका एक गरी ५९ सांसद छन्। त्यस्तै, विवेकशील साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ सांसद रहेका छन्।

शाक्यले राजिनामा दिएसंगै नयाँ सरकार गठनको लागि बाटो खुलेको छ। नयाँ सरकार गठनका लागि शाक्यविरुद्धको गठबन्धनले दावी पेश गर्न नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सार्दै सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell