काठमाडौं : नेपालका तीन जिल्लामा कोभिड-१९ विरुद्धको पूर्ण रुपमा खोप प्रदान गरिएको छ। रुकुम पूर्व, मनाङ र मुस्ताङ जिल्लामा कोभिड-१९ विरुद्ध लक्षित समूहका शत प्रतिशतले खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा एक करोड ५४ लाख १९ हजार चार सय ५ मात्र खोप वितरण भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये ८६ लाख ४९ हजार दुई सय ५१ जनाले कम्तिमा एक डोज खोप प्राप्त गरेका छन्।
त्यस्तै, मन्त्रालयको तथ्यांक अनुसार बुधवारसम्म ६७ लाख ७० हजार एक सय ५४ जनाले खोपको पूर्णमात्रा लगाइसकेको उल्लेख छ।
वाग्मतीमा ५७ प्रतिशत, कर्णालीमा २२ प्रतिशतलाई पूर्ण मात्र
मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशमा खोप वितरण भएको छ। वागमती प्रदेशमा लक्षित समूह मध्ये ६६.५ प्रतिशतले कम्पतिमा एक डोज खोप प्राप्त गरेका छन्। त्यहाँ ५७ प्रतिशतले पूर्ण मात्रा खोप प्राप्त गरेका छन्। त्यस्तै, गण्डकी प्रदेशका ५३.१ प्रतिशतले कम्तिमा १ मात्र खोप प्राप्त गर्दा ३९.६ प्रतिशतले पूर्ण मात्रा खोप प्राप्त गरेका छन्।
लुम्बिनी प्रदेशमा ३१.२ प्रतिशतले पूर्ण मात्रामा खोप प्राप्त गरेका छन्। त्यहाँ कम्तिमा एकमात्र खोप प्राप्त गर्ने लक्षित समूहका ३७.७ प्रतिशत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सुदुरपश्चिम प्रदेशमा ३८.९ प्रतिशतले कम्तिमा १ मात्रा र २७.३ प्रतिशतले पूर्ण मात्रामा खोप प्राप्त गरेका छन्। प्रदेश १ मा ३६.३ प्रतिशतले कम्तिमा १ मात्रा र २३.९ प्रतिशतले पूर्ण मात्रामा खोप प्राप्त गरेका छन्।
प्रदेश २ मा ३१.७ प्रतिशतले कम्तिमा १ मात्रा र २४.९ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्। त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा ३१ प्रतिशतले कम्तिमा १ मात्रा र २२ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्।
हालसम्म नेपालले एक करोड ९९ लाख ७९ हजार तीन सय ३० मात्रा खोप प्राप्त गरेको छ। जसमध्ये एक करोड ३० लाख २० हजार खोप खरिद गरिएको र ६९ लाख ५९ हजार तीन सय ३० अनुदानमा प्राप्त गरेको हो।
नेपालमा कूल जनसंख्याको २८.५ प्रतिशतले कम्तिमा १ मात्रा र २२.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। त्यस्तै, १८ वर्ष माथिका लक्षित जनसंख्या एक करोड ९९ लाख २२ हजार एक सय ६४ जना मध्ये ४३.४ प्रतिशतले कम्तिमा १ मात्रा र ३४ प्रतिशतले पूर्ण मात्रामा खोप प्राप्त गरेका छन्।