PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालमा १२ वर्ष माथिका किशोरकिशोरीलाई खोप दिने तयारी, यी देशले पनि बालबालिकालाई दिइरहेका छन् खोप



विधुर ढकाल

नेपालमा १२ वर्ष माथिका किशोरकिशोरीलाई खोप दिने तयारी, यी देशले पनि बालबालिकालाई दिइरहेका छन् खोप

काठमाडौं : नेपालले कोभिड-१९ विरुद्ध १२ वर्ष माथिका किशोरकिशोरीलाई पनि कोभिड-१९ विरुद्धको खोप प्रदान गर्ने तयारी थालेको छ।

कोभ्याक्स सुविधा मार्फत् अमेरिकाले सहयोग उपलब्ध गराएको फाइजर-बायोएनटेकको पहिलो डोज काठमाडौं उपत्यकाका ९ र उपत्यका बाहिरका १५ गरी २४ वटा अस्पतालबाट किशोरकिशोरीहरुलाई दिने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए।

अस्पतालका स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरणसहित सबै व्यवस्थापनपछि मात्र खोप दिने तयारी भइरहेको छ। हाल फाइजर-बायोएनटेकको १ लाख ६२० डोजमात्र नेपाल आइपुगेको छ। यो खोपले सो उमेर समूहका सबैलाई पुग्ने छैन। त्यसैले हाल २४ वटा अस्पतालबाट मात्र खोप दिइने भएको हो। ‘खोपको निरन्तर आपूर्तिबाट कोभिड-१९ विरुद्धको खोप अभियानलाई विस्तार गरिने छ,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।

हालसम्म नेपालमा कुल जनसंख्याको २८.४ प्रतिशतलाई कम्तिमा एक मात्रामा खोप उपलब्ध भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै २१.९ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्। त्यस्तै १८ वर्ष माथिका लक्षित जनसंख्याको ३३.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्। यो समूहका ४३.३ प्रतिशतले कम्तीमा एक मात्रामा खोप लगाएका छन्।

मन्त्रालयको तथ्यांकअनुसार खोप अभियान सुरु भएपछि एक करोड ५२ लाख ६८ हजार ७७१ मात्रा खोप उपलब्ध भएको छ। जसमध्ये ६६ लाख ४७ हजार ३२२ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् भने ८६ लाख २१ हजार ४४९ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन्।

यि देशले बालबालिकालाई पनि दिँदैछन् खोप

चीनले यसै सातादेखि बालबालिकाहरुमा पनि कोभिड-१९ विरुद्धको खोप दिन थालेको छ। चीनले देशव्यापी रुपमा ३ वर्ष देखि ११ वर्षसम्मका बालबालिकाको लागि खोप अभियान सुरु गरेको छ।

चीनले हालसम्म एक अर्ब जनसंख्यालाई पूर्ण मात्रामा खोप उपलब्ध गराइसकेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। त्यहा दुई अर्ब २० करोड डोज भ्याक्सिन दिइएको छ।

चीनले गत जुलाइमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई खोप दिन थालेको थियो। जसमध्ये ९१ प्रतिशत लक्षित समूहले दुबै डोज लगाइसकेको त्यहाँको मन्त्रालयले जनाएको छ।

बेइजिङमा जोखिम समूहका नागरिकहरुलाई बुस्टर डोजसमेत दिन थालिएको छ।

अमेरिकाले पनि ५-११ उमेर समूहका बालबालिकाहरुलाई कोभिड-१९ विरुद्धको खोप दिने विषयमा छलफल सुरु भएको छ। अमेरिकी फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसनको वाह्य विज्ञहरुको कमिटीले मंगलवार खोप दिने विषयमा राय व्यक्त गरेको थियो। यद्यपि उनीहरुको रायलाई मान्नुपर्ने बाध्यता भने छैन तर, एफडीएले यसलाई सुझावको रुपमा लिँदै आएको छ।

मंगलवार भएको मतदानमा १८ सदस्यमध्ये ९४ प्रतिशतले खोप दिनुपर्ने पक्षमा मतदान गरेको र डाक्टर माइकल कुरिलाले अस्वीकार गरेका थिए।

अमेरिकासहित पश्चिमा राष्ट्रहरुले १२ वर्षदेखि माथिका किशोर किशोरीहरुलाई फाइजर बायोएनटेकको खोप दिँइरहेका छन्। तर बालबालिकाको हकमा भने अझै छलफल र अनुसन्धानकै क्रममा रहेका छन्।

गत अक्टोबर १८ मा इयुको स्वास्थ्य नियामक निकायले फाइजर-बायोएनटेकको कोभिड-१९ भ्याक्सिन ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिने विषयमा मुल्यांकन सुरु गरेको जनाएको थियो।     

डेनमार्कले १२-१५ उमेर समूहलाई खोप दिने घोषणा गरिकसकेको छ भने फ्रान्सले १२ वर्ष माथिकालाई खोप दिइरहेको छ। उनीहरुलाई अभिभावकको सहमतिमा खोप दिन थालिएको छ। जर्मनीले पनि अगस्टदेखि नै १२ देखि १७ वर्ष उमेर समूहका नागरिकलाई खोप दिइरहेको छ।

अष्ट्रियाले १२ देखि १५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइसकेको छ। हंगेरीले पनि १६ वर्षदेखि १८ वर्षका नागरिकलाई पनि खोप दिन थालेको छ। इटालीले गत मे ३१ मा १२ देखि १५ वर्ष सम्मका नागरिकलाई फाइजरको खोप उपलब्ध गराउने घोषणा गरेको छ।

स्पेनले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै गत सेप्टेम्बरमा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप दिन थालेको हो।

ग्रीस, फिनल्याण्ड, आयरल्याण्ड पोल्याण्डले पनि १२ वर्ष माथिका किशोर किशोरीलाई खोप दिइरहेका छन् भने केहीले तयारी थालेका छन्। 

बेलायत, स्वीट्जरल्याण्ड, नर्वेले पनि खोप उपलब्ध गराइरहेका छन्।

यता संयुक्त अरब इमिराट्सले ३ वर्ष देखि १७ वर्ष सम्मका बालबालिका तथा किशोरकिशोरीलाई सिनोफार्माको खोप उपलब्ध गराउन थालिसकेको छ।

त्यस्तै बहराइनले बुधवारमात्रै सिनोफार्माको कोभिड-१९ भ्याक्सिन ३-११ वर्ष सम्मका बालबालिकालाई उपलब्ध गराउन स्वीकृत दिइसकेको छ। इन्डोनेसियाले १२ देखि १७ सम्मका किशोरकिशोरीलाई सिनोभ्याक खोप दिन गत जुन २८ मै अनुमति दिएको थियो।

भारतको सल्लाहकार समूहले २ देखि १८ सम्मका बालबालिका तथा किशोरकिशोरीलाई भारत बायोएनटेकको कोभिड भ्याक्सिन दिन सुझाव दिएको थियो। तर, नियमक निकायले यसलाई स्वीकृत दिएको छैन।  हङकङ सिंगापुरले पनि १२ वर्ष माथिका किशोरकिशोरीलाई खोप दिन थालेका छन्। जापानले १२ वर्ष माथिका किशोरकिशोरीलाई फाइजरको खोप दिने स्वीकृति प्रदान गरेको थियो। 

फिलिपिन्सले गत मे २६ मै १२ वर्ष माथिकालाई फाइजर बायोएनटेकको खोप दिने निर्णय गरेको थियो। त्यस्तै जोर्डनले जुलाइ देखि नै १२ वर्ष माथिकालाई खोप दिँदै आएको छ।  

चिलीले चीनको सिनोभ्याक बायोएनटेकको खोपलाई ६ वर्ष माथिका बालबालिकामा प्रयोग अनुमतिसमेत दिइसकेको छ।

क्युबाले २ वर्ष माथिका बालबालिकालाई पनि कोभिड-१९ विरुद्धको खोप अभियानमा सहभागि गराइरहेको छ। एल साल्भाडोरले पनि सेप्टेम्बरमै ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन अनुमति दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell