PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

एथ्लेटिक्स्मा दौडने विनोदकुमार अहिले बनाउँदैछन् पाला

एथ्लेटिक्स्मा दौडने विनोदकुमार अहिले बनाउँदैछन् पाला

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : भक्तपुरको पोटरी स्क्वायरमा अहिले माटोका पाला (दियो) बनाउन भ्याइनभ्याइ काम गरिरहेका छन् प्रजापति समुदाय। हरेक वर्ष जब तिहार नजिकिँदै जान्छ अन्धकारलाई हटाएर सबैतिर उज्याउलो छर्ने पर्वको लागि दियो बनाउन उनीहरु जुट्छन्।

बिजुलीका झिलिमिली र सस्ता बत्तीहरुले अहिले तिहारमा दियोको प्रयोग घटिरहेको छ। यद्यपि, बजार घटे पनि परम्परा धान्दै माटोलाई आकार दिनेहरुको कमी छैन।

भक्तपुरको बोलाछेँ (पोटरी स्क्वायर)मा पुर्खौली पेशा धान्दै आएका विनोदकुमार प्रजापतिलाई पनि यसपटक भ्याइनभ्याइ छ माटोको दियो बनाउन। उनलाई साथ दिइरहेका छन् छोरी र श्रीमतीले।

खेलकुद क्षेत्रमा सक्रिय उनले यसरी निरन्तर दियो बनाउन थालेको करिब १० वर्ष भयो। त्यसअघि कामकै सिलसिलामा पुर्ख्यौली कामका लागि धेरै समय दिन सक्दैन थिए। अहिले भने उनी पुरै समय माटोको कामलाई दिइरहेका छन्। तिहार आउन करिब एक हप्ता बाँकी रहँदा उनी अझै दियो बनाउनै व्यस्त छन्।

एथ्लेटिक्समा राष्ट्रिय प्रतियोगितामा सहभागी जनाइसकेका प्रजापतिले लामो समय खेलकुद शिक्षकका रुपमा काम गरे। भक्तपुरका विभिन्न स्कुलमा खेल शिक्षकका रुपमा काम गरेका उनले भक्तपुरको राजदल गणमा समेत सेनालाई एथ्लेटिक्स प्रशिक्षण दिए। हाल उनी विभिन्न प्रतियोगितामा निर्णायक र अफिसियलको भूमिकामा छन्। बाँकी समय यही पुर्ख्यौली पेशालाई दिइरहेका छन्।  

गत वर्ष कोरोना भाइरस संक्रमणको समयमा पनि उनी दियो बनाउन व्यस्त रहे। बजारमा माटोको भाँडा र दियोको प्रयोग कम हुने गरिए पनि उनी भने यो पेशा प्रति आशावादी छन्।  

'अहिले दिनमा एक हजारदेखि १५ सय वटा पाला बनाउँदैछु। व्यापार पहिलाभन्दा घटेपनि अहिले माटोको दियो प्रयोग गर्नेहरु पनि बढ्दैछन्' उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell