
हेटौंडा : वाग्मती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। अष्टलक्ष्मी शाक्यले बुधवार पदबाट राजीनामा दिएसँगै नेकपा (एकीकृत समाजवादी)का प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्। शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठका लागि दावी पेश गर्न बिहीवार ३ बजेसम्मको समय दिएका थिए।
आज ३ बजेभित्रै पाण्डेले मुख्यमन्त्रीमा नियुक्ती पाउने र सानो मन्त्रीमण्डल गठन हुने बताइएको छ। प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट दलकी उप–नेता कुमारी मोक्तान, कांग्रेसका उप–नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादी दलका उप–नेता कृष्ण खनालले जिम्मेवारी पाउने बताइएको छ। सरकारका जाने मन्त्रीहरुमध्ये माओवादीले आर्थिक मामिला, काँग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयमा जिम्मेवारी पाउने स्रोतको भनाई छ। तिहारलगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिने र सरकार विस्तारको काम अघि बढ्ने कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले बताए।