PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रहरीले बरामद गरेको करोडौंका लागू औषध के गरिन्छ?



सविन ढकाल

प्रहरीले बरामद गरेको करोडौंका लागू औषध के गरिन्छ?

काठमाडौं : अगाडिपट्टि ठूलाठूला पोका। छेवैमा भाग लगाएको जस्तो सामानहरु। त्यसको ठीक पछाडि अनुहार छोपेर उभ्याइएका मानिस।

यस्ता दृश्य धेरै पटक देखिएका छन्। प्रहरीले कुनै मानिसलाई केही अवैध वा कानुनले वर्जित गरेका सामाग्रीसहित समातेपछि सार्वजनिक गर्दा देखिने औपचारिक दृश्य यस्तै हुन्छ।

यसरी प्रहरीले बरामद गर्ने सामानमा सुनदेखि अवैध रुपमा भित्र्याएका नुनसमेत हुनसक्छ। प्रहरीले बरामद गरेका सुन, चाँदी, पैसा तथा भन्सार नतिरी ल्याएका सामान राज्यले नै लिने गर्छ। तीमध्ये केही लिलामीमा चढ्छन् त केही सोझै सरकारी ढुकुटीमा जान्छ।  प्रहरीले गत आर्थिक वर्षमात्र बरामद गरिएको सुनबाट करिब २७ करोड १५ लाख ९१ हजार ६ सय ८० रुपैयाँ मुलुकको राजश्वमा दाखिला गरायो।

बरामद गरिएका सबै वस्तु यसरी राजश्वमा दाखिला हुनेखालका भने हुँदैनन्। जस्तो कि प्रहरीले बरामद गरेका घरेलु मदिरा। जफत भएका यस्ता मदिरालाई फ्याँकिन्छ। प्रहरीले नष्ट गरेका मदिरा र त्यसका ग्यालेनका फोटो र भिडियो धेरैले देखेकै हुनुपर्छ।

बहुमूल्य वस्तु मुलुकको ढुकुटीमा पुर्‍याउने प्रहरीले घरेलु मदिराजस्ता पदार्थलाई नष्ट गर्छ। त्यसो हो भने बरामद गरेको लागू औषध चाहिँ प्रहरीले के गर्छ? लागू औषध चाहिँ बरामद हुने सुन, नगद वा भन्सार नतिरी ल्याएका सामानजस्तो राज्यले प्रयोग गर्ने विषय त होइन। करोडौँ रुपैयाँ बराबरका लागू औषध बरामद भए पनि नष्ट गरिएका समाचार र दृश्य देखिँदैन। त्यसैका आधारमा प्रहरीमाथि शंका गर्नेहरु पनि छन्। किनकि पारदर्शिताको विषयले सबैलाई छुन्छ। आखिर के गरिन्छ त जफत भएका लागू पदार्थलाई?

प्रहरीले बरामद गरेका लागू औषध निश्चित समयपछि नष्ट गरिन्छ। घरेलु मदिरामा जस्तो जहाँ भेट्यो त्यही पोखेर फ्यालेजस्तो चाहिँ यसमा हुँदैन। प्रहरीले अभियुक्त र लागू औषध बरामद गरेको केही समयसम्म अनुसन्धानको लागि त्यसलाई आफूँसँगै राख्छ। जब केस सरकारी वकिल कार्यालय हुँदै अदालतसम्म पुग्छ त्यसअघि बरामद भएका लागू औषध नष्ट गरिन्छ।

'साना परिमाणमा बरामद भएका लागू औषध नष्ट गर्दा के सार्वजनिक गर्नु भनेर पत्रकार सम्मेलनमात्र गर्छौं। तर, सम्बन्धित व्यक्तिहरू राखेर नष्ट गरिरहेका हुन्छौँ,' लागू औषध नियन्त्रण ब्युरोका एसएसपी हृदय थापाले भने।

कति समयमा गरिन्छ नष्ट?

प्रत्येक वर्ष प्रहरीले बरामद गर्ने लागू औषधको परिमाणमा वृद्धि भइरहेको छ। अफिम, कोरेक्सन बोतल, गाँजा, हेरोइन, ट्याब्लेट बरामद गर्ने परिमाण औशत ५० प्रतिशतभन्दा बढी छ। कोकिन र हिरोइन जस्ता लागु औषधिकहरुको मूल्य किलोमा नै करोड रुपैयाँभन्दा बढी पर्न आउँछ।

कोकिन एक वर्षमा १४ केजीसम्म बरामद गरेको प्रहरीको रेकर्डले देखाएको छ। यसरी बरामद भएको लागू औषध १५ दिनभित्र नष्ट गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। लागू औषध नियन्त्रण ऐन २०३३ को दफा ११ मा लागू औषध नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ। ऐनमा सम्बन्धित अदालतबाट प्रहरीले लागू औषध मुद्दामा म्याद थप गरिएको १५ दिनभित्र नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ।

जिल्ला अदालतको प्रतिनिधि, स्थानीय जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि र स्थानीय नगरपालिका वा गाउँपालिकाका प्रतिनिधि समेतको रोहवरमा मुद्दा म्याद थपका लागि अदालतमा पेस भएको पन्ध्र दिनभित्र नष्ट गर्नुपर्ने व्यवस्था छ।

कानुनमा उल्लेख भएअनुसार नै अदालतका प्रतिनिधि र निर्णयअनुसार नै लागू औषध नष्ट गर्ने गरेको एसएसपी थापाले बताए।

'हामीले बरामद गरेका सबै लागू औषध नष्ट गरिसकेका छौँ। हामीले मात्र होइन, अन्य प्रतिनिधि पनि यसमा संलग्न हुनुहुन्छ,' एसएसपी थापाले भने।

यसरी नष्ट गरिएको लागू औषधको लगत भने प्रहरीले राख्नुपर्ने हुन्छ। लागू औषध १५ दिनभित्र नष्ट गर्नु भए पनि समातिएका केस अधिकांश त्यो अवधिभित्र अदालतमा पुगेका हुँदैन। अदालतमा अभियुक्तलाई उभ्याउनुअघि नै लागू औषध नष्ट गर्नुपर्छ। त्यसो भए अदालतमा बहस वा सुनुवाइ हुँदा प्रहरीले के प्रमाण पेश गर्छ त?

कानुनले यस्ता घटनामा नमुनाका लागू औषध राख्न पाउने अधिकार दिएको छ। तर, त्यसरी राख्ने परिमाणको मात्रा पनि तोकिएको छ। प्रहरीले यसरी बरामद गरेको लागू औषधको प्रत्येक पोकाबाट मुद्दा हेर्ने अधिकारीले खटाएको एक प्रहरी अधिकृतको रोहबरमा अधिकतम तीन ग्रामसम्म स्याम्पल राख्न पाउँछ। प्रहरीले यसरी राखेको स्याम्पल नै अदालतमा पेश गर्ने वा प्रयोगशालामा परीक्षणका लागि पठाउने गर्छ।

लागू औषध नष्ट गर्ने समय र स्थान सम्बन्धित अदालतले तोकेको हुन्छ। काठमाडौं जिल्ला अदालतको हकमा भने अदालतको परिसरमा नै नष्ट गर्ने स्थान छ। केही वर्षदेखि त्यही स्थानमा नै लागू पदार्थ नष्ट गरिँदै आएको छ। तर, धेरै ठूलो परिमाणमा लागू औषध बरामद भएको खण्डमा परिसरमा ल्याउन सम्भव नभए अदालतको प्रतिनिधि पठाएर जहाँ पायक पर्छ त्यहीँ नष्ट गरिन्छ।

'लागू औषधको अहिलेसम्म त्यति धेरै परिणाम आएको छैन। त्यसैले अहिले हाम्रो अदालतको परिसरमा नै नष्ट गरिँदै आएको छ,' जिल्ला अदालत काठमाडौं सूचना अधिकारी दीपक दाहालले भने।

नेपाल प्रहरीले गएको आर्थिक वर्षमा ८ हजार २ सय ३५ केजी गाँजा, ५ सय ११ केजी चरेस, ९ केजी २४ ग्राम हेरोइन, १ केजी १७ ग्राम कोकिन, २ सय ६२ किलो ५४ ग्राम अफिम, २ लाख ३५ हजार ६ सय ६६ विभिन्न लागु औषध ट्याब्लेट, १ लाख ६३ हजार ५ सय २४ एम्पुल र १३ हजार ४ सय २७ कोरेक्सन बोतल बरामद गरेको थियो। यी सबै लागू औषध नष्ट गरिसकेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बरामद गरेको अधिकांश लागू औषध आगो लगाएर नै नष्ट गर्ने गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell