
काठमाडौं : नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने बारेमा गठबन्धनमा छलफल नभएको बताएका छन्। बिहीवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महाभियोग लगाउनेबारे गठबन्धनमा छलफल नभएको नेपालले बताएका हुन्।
उनले गठबन्धनका नेताहरुको व्यस्तताका कारण अहिले बैठक बस्न नसकेको जानकारी दिए। ‘हामीले त छलफल नै गरेका छैनौँ। महाभियोग बारेमा केही प्रवेश नै गरेको छैन।अहिले हाम्रो पाँच दलको बैठक नै बस्न सकेको छैन,' नेपालले भने।
एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकामाथि अनावश्यक लाञ्छना लगाएको नेपालको आरोप छ। ओलीले रिस साँध्न सबै न्यायाधीशहरुलाई हटाउनुपर्ने अभिव्यक्ति दिएको उनले बताए।
'उहाँले न्यायपालिकामाथि अनावश्यक रुपमा लाञ्छना लगाउने काम गर्दै आउनुभयो। न्यायपालिकालाई स्वतन्त्र ढंगले भूमिका निर्वाह गर्न दिनुपर्ने कुरामा उहाँले रिस साध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्नुभयाे उहाँकाे भूमिका अत्यन्तै अनुचित, हस्तक्षेपकारी र देशको सबै सिस्टमलाई भत्काउने प्रवृतिकै उपज हो,' नेपालले भने।
एकीकृत समाजवादीले चुनावमा अरु पार्टीसँग गठबन्धन गर्ने उनको भनाइ छ। नेपालले गठबन्धन चुनावसम्मै जाने दाबी समेत गरे।
'हामी यसपटकको चुनावमा अरु पार्टीसँग पनि गठबन्धन गर्नेछौँ। चुनावी गठबन्धन हुनेछ। हाम्रो पार्टीले अरु कुनै पार्टीसँग एकता गर्ने छैन। चुनावको बेलामात्र अरु पार्टीसँग सहकार्य गर्नेछौँ,'नेपालले भने।
आफ्नो पार्टीले निर्वाचन आयोगबाट कलम चुनाव चिह्न पाइसकेको बताउँदै उनले सूर्य चिन्हमा ग्रहण लागेको टिप्पणी गरे।