काठमाडौं : श्रीमानश्रीमती नै मन्त्री, कोही आलोपालो। कोही एकैसाथ। केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा देखिएको दृश्य हो यो। रामबहादुर थापा बादलले सत्ता छाड्ने वित्तिकै उनकी श्रीमती नैनकला थापाले मन्त्रीको जिम्मेवारी पाइन्।
यो संयोग थापा दम्पत्तीमामात्र सीमित रहेन। एमाले नेता रघुवीर महासेठको दम्पत्तीले पनि केपी शर्मा ओलीको कार्यकालमै मन्त्री बनेर रजगज गर्न पाए। महासेठ दुई पटक मन्त्री बन्न पाउँदा ओलीको प्रधानमन्त्रीकालमा महासेठपत्नी जुलीकुमारी महतो महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनिन्।
एमालेका नेता शेरबहादुर तामाङ दम्पत्तीले पनि यो मौका गुमाएनन्। तामाङले केन्द्रीय मन्त्री बनेकै बेला उनकी श्रीमती उषाकला राई प्रदेश १ को मन्त्री बनिन्। तत्कालीन समयमा नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढेपछि ओली क्याम्पमा बसेकाहरुलाई पुरस्कारस्वरुप दम्पत्तीले नै धमाधम मन्त्रीको पद पाएका थिए। प्रचण्ड-नेपाल क्याम्पबाट ओली क्याम्पमा गएका तामाङ दम्पत्तीले मन्त्री उपहार पाएका थिए।
संयोग दोहोरिँदै
अहिले सत्ता परिवर्तन भएको छ। केन्द्रीय सरकारको नेतृत्वमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छन्। सत्ता गठबन्धनबाट वाग्मती प्रदेशको एमाले सरकार ढालेर एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रीमा नियुक्ति दिएका छन्।
नेकपा माओवादी वाग्मती प्रदेशकी उपनेतासमेत रहेकी उनी नेकपा विभाजनको समयमा प्रचण्ड माधव क्याम्पमा लागेकी थिइन्। जबकि उनका श्रीमान दावा तामाङ भने ओली क्याम्पमा लागेका थिए।
सिन्धुपाल्चोकका माओवादी पृष्ठभूमिका अधिकांश नेता कार्यकर्ता प्रचण्ड माधव क्याम्पतिर लाग्दा दावा भने ओली क्याम्पमा लागेका थिए। प्रदेश सभामा पराजित पूर्व माओवादी नेता दावालाई ओलीले खेलकुद मन्त्रीको बनाए।
पूर्व माओवादीका भए पनि दावा ओली क्याम्पमै अडिएका थिए। दावा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसका निमा लामासँग पराजित भएका व्यक्ति हुन्।
सिन्धुपाल्चोकमा कांग्रेसका निमाबाहेक अरु प्रतिनिधिसभाका दुबै क्षेत्र र प्रदेशसभाका तीन क्षेत्रमा वाम गठबन्धनले जितेको थियो।
संविधानसभा सदस्यसमेत रहेका माओवादी केन्द्रका दावालाई १९७ मतले पराजित गर्दै कांग्रेसका निमा लामा प्रदेश सभा सदस्यमा विजयी भएका थिए। लामाले १८ हजार ९०५ मत पाए भने तामाङले १८ हजार ७०८ पाएका थिए।
को हुन् कुमारी?
श्रीमान दावा प्रदेश सभा निर्वाचमा पराजित भए पनि मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट वामगठबन्धनको तर्फबाट विजयी भएकी कुमारी। दावा र कुमारी दम्पत्ती पहिलो संविधानसभा सदस्य हुन्।
कुमारी २०६४ सालमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–४ बाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन्। २०३६ सालमा जन्मिएकी २०५० सालबाट माओवादी रोज्दै राजनीतिमा होमिएकी थिइन्।
सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनसमेत बिताएकी उनी विभिन्न पद हुँदै २०६२ मा केन्द्रीय सदस्य बनेकी थिइन्। २०६३ मा उनी अन्तरिम विधायिकाको जिम्मेवारीमा रहेकी थिइन्।
