काठमाडौं : वाग्मती प्रदेशमा नयाँ सरकार गठन भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार राजिनामा दिएपछि बिहीवार नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा सपथ लिए।
पाण्डेसँगै तीन जनाले मन्त्रीको सपथ लिएका छन्। जसमा नेकपा (माओवाद केन्द्र)बाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनालले मन्त्रीको सपथ लिए। मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
भँडेल उपनिर्वाचन मार्फत प्रदेशसभामा पुगेका थिए।
प्रदेशसभा भक्तपुर निर्वाचन क्षेत्र १ (क) बाट उनले जितेका हुन्। उक्त क्षेत्रमा प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि उपनिर्वाचन भएको थियो।
उक्त निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेद्वारलाई पछि पार्दै भँडेल निर्वाचित भएका थिए। उनी प्रधानमनमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट नेता मानिन्छन्। उनी कांग्रेसको संसदीय दलको उपनेतासमेत हुन्।