आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि सहज जित निकालेको छ। दुबइ इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ७ विकेटको सानदार जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। १५५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङमा उत्रिएको श्रीलंकालाई कुशल परेर र छारिथ असलन्काले समान ३५ रनको योगदान दिँदा भानुका राजापक्षेले अभिजित रहँदै ३३ रनको योगदान दिए। बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिङ्स र एडम जाम्पाले समान २/२ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाका लागि डेभिड वार्नरले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६५ रन बनाए। त्यस्तै आरोन फिन्चले ३७ रन बनाउँदा स्टिभ स्मिथ ३७ रनमा र मार्कस स्टोइनिस १६ रनमा अभिजित रहे।
जितसँगै समूह ए मा रहेको अस्ट्रेलियाले लगातार दोस्रो जित निकाल्दै तालिकाको शीर्ष दुईमा छ। समान दुई खेलमा जित निकालेको इङ्ग्ल्याण्ड रनरेटमा अगाडि रहँदै तालिकाको शीर्षस्थानमा छ।
