PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बाख्रा चराउँदा चराउँदै फुटबलमा होमिएका किशोरीहरुको कथा : डुबेको गाउँमा उद्धार सकेर, एन्फा ग्राउन्डसम्मको यात्रा



पहिलोपोस्ट

बाख्रा चराउँदा चराउँदै फुटबलमा होमिएका किशोरीहरुको कथा : डुबेको गाउँमा उद्धार सकेर, एन्फा ग्राउन्डसम्मको यात्रा

  • मुकुन्द घिमिरे/लक्ष्मी बलायर-

काठमाडौं : दशैं नसकिँदै कात्तिक पहिलो साता अप्रत्यासित हिसाबले बेमौसमी वर्षा भयो। लगातार झरी पर्दा सुदूरपश्मिम र पूर्वका विभिन्न स्थानमा अन्नबालीमा क्षति त भयो नै मानवीय क्षति पनि त्यत्तिकै। कति ठाउँ डुबानमा परे र कति पहिरोसँगै पुरिए। सिंगो मुलुकले त्यतिखेर जे भोगिरहेको थियो कैलालीको जानकी गाउँपालिका अछुतो रहोस् कसरी?

कात्तिक ३ गते उपमेयर कप महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन काठमाडौं हिँड्न लागेको किशोरीहरुको एउटा टिमको सेड्युल भाँडियो। काठमाडौं निस्किन तय भएकोभन्दा अघिल्लो दिन अर्थात् कात्तिक २ गते राति यति ठूलो वर्षा भयो कि सिंगो गाउँ नै डुबानमा पर्‍यो। गाउँमै मानिसहरुलाई उद्धार गर्नुपर्ने अवस्था आइलाग्दा काठमाडौंको यात्रा बिथोलियो। जानकी गाउँपालिकाको पहिलो खेल थियो ५ गते। त्यसका लागि ३ गते हिँड्न सकेनन्। झरीका कारण ४ गतेमात्रै टोली काठमाडौंका लागि छुट्यो।

पहिले यसरी लामो यात्रा नगरेका अधिकांश किशोरी खेलाडी। काठमाडौं त टाढाको कुरा, धनगढीसम्म पनि नपुगेकाहरु धेरै। गाडीको सकसपूर्ण यात्रा। वर्षातले डुबानमा परेका ठाउँ, कतै पहिरोले घन्टौं लामो अवरुद्ध बाटो। लामो यो यात्रामा गाडीमा वान्ता नगर्ने खेलाडी त सायदै थिए। रातभरि लगाएर भए पनि ५ गते बिहानै काठमाडौं आइपुग्ने लक्ष्य थियो। तर, वर्षाले जताततै यसरी रोक्यो कि ढिला हुने निश्चित भयो। दिउँसो २ बजेदेखिको खेल भ्याउने सम्भावना नै रहेन। अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको समन्वयमा उनीहरुको खेल दुई घन्टा पर अर्थात् ४ बजेका लागि सारियो। खेलाडी बोकेको नाइट बस मध्य दिन पार भइसकेपछि सिधै एन्फा कम्प्लेक्स अगाडि पुगेर रोकियो।

डुबेको गाउँ, रातभरको सकसपूर्ण यात्रा, अनिँदो शरीर र थकानका बिच गाडीबाट ओर्लिएर नुहाइधुवाइसमेत गर्न नपाउँदै गाउँपालिकाको टोली मैदानमा उत्रियो। र, बेहोर्‍यो पहिलो पराजय।

+++

१४ वर्षीया रञ्जिता चौधरीले पाँच/छ महिना अघिमात्रै पहिलो पटक फुटबल खेलेकी हुन्। फुटबलसँग जोडिनुको उनको निकै रोचक प्रसंग छ। एक दिन उनी साथीहरुसँग बाख्रा चराउन जंगल गएकी थिइन्। त्यहीँ जंगल छेउमै भर्खरै बनेको 'कटासे फुटबल ग्राउण्ड' ।

ग्राउण्ड नजिकै पुगेकी उनले केटीहरुले फुटबल खेलिरहेको देखिन्। उनलाई पनि रहर लाग्यो उनीहरुले खेलेजसरी नै खेल्ने। ग्रासरुट फुटबलमा अभियान चलाइरहेका भोजराज भाटले उनलाई बोलाए र एउटा बल दिए। बल पाउँदा निकै खुसी भइन् उनी। त्यसपछि बल लिएर उनी घर गइन्। त्यही फुटबल देखेर लोभिएकी रन्जिता उपमेयर कपमा जानकी गाउँपालिकाको टिमको गोलकिपरको रुपमा मैदानमा उत्रिइन्।

कैलालीमा जन्मेकी रञ्जिताले यसरी फुटबलसँग जोडिएर काठमाडौं आउन पाउने सोचेकी पनि थिइनन्। अझ एन्फाको ग्राउण्डमा फुटबल खेल्न त धेरै परको कुरा। पहिलो पटक काठमाडौं देख्न पाउँदा दंग दङ्ग देखिन्थिन् उनी। 'यहाँ आइली टो। यसिन गाउण्ड देख्ली नाइ तब। देख्ली टो। बडा खुसी लागल,’ मातृभाषामै उनले सुनाइन्।

रन्जिताजस्तै दीपिका कठरियाको काठमाडौं यात्रा पनि अप्रत्यासित रह्यो। कैलालीमै जन्मेकी दीपिकालाई पनि सजिलै काठमाडौं देख्न पाउने सोचेकी थिइनन्। यति पढेकी थिइन् - काठमाडौंमा ठूला घर, धेरै गाडी र बजार भएको शहर हो।

सपनाको शहर काठमाडौंमा फुटबल खेल्न आउन पाउँदा खुसी सुनिन्थिन् उनी। हारजित भन्दा पनि उनका लागि ठूलो उपलब्धि थियो - राजधानी आइपुग्नु।

'एन्फामा खेल्न पाउँदा निकै खुशी लागेको छ। यता आएर घुम्न पनि पायौँ। हारे पनि राम्रो ठाउँमा खेल्न त पायौँ भन्ने लागेको छ। काठमाडौं आउने सपना पूरा भएको छ,' उनले भनिन्, 'यसपालाको उपमेयर कपमा नजिते पनि आगामी दिनमा देश विदेशमा खेल खेल्ने इच्छा छ।'

त्यसो त उनी सुरुमा स्कुलमा साथीहरुसँग फुटबल खेल्थिन्। हाइट राम्रो भएका कारण उनलाई सिधै गोलकिपरमा राखियो। घरपरिवारले खेलेकोमा कुनै गुनासो गरेनन् तर छरछिमेकमा भने 'काम गर्न छोडेर फुटबल खेल्छ' भन्दै सुनाउनेहरु थिए। बिहान ४ बजे उठेर खाना पकाउनु र बिहान ६ बजे ग्राउण्डमा पुगेर अभ्यास गर्नु नियमित रुटिन बन्यो उनका लागि।

एन्फाको टेक्निकल ग्राउन्ड उनले अभ्यास गरिरहेको बन्दै गरेको मैदानभन्दा फरक थियो। त्यसैले सुरुमा खेल्न निकै डर लागेको सुनाइन् उनले।

पहिलो पटक यति ठूलो ग्राउण्डमा खेल्दाको डर! अझ त्यसमाथि थकाई र अनिन्द्राले गलेको शरीर। गेम सार्न पनि सम्भव थिएन। हार्ने थाहा थियो तर हिम्मत कायमै थियो।

'हार्छौं नै भन्ने लागेको थियो। किनकि सबै साथीहरु थाकेका थियौँ। तर हामीले हिम्मत हारेनौँ। हारे नि जिते नि जसरी पनि खेल्नुपर्छ भनेर हामी ग्राउण्डमा गयौँ,' उनले भनिन्।

+++

कसरी बन्यो जानकी गाउँपालिकामा महिला फुटबल टिम?

पत्रकारिता गर्दागर्दै डकुमेन्ट्रीतिर होमिएका कैलालीका भोजराज भाटले बनाए - सुनकली। मुगुका किशोरीहरुको फुटबल मोहबारेको डकुमेन्ट्री सुनकलीले धेरै अन्तर्राष्ट्रिय अवार्ड जित्यो। किशोरीहरुको फुटबल प्रेमलाई गाँसेर महिला सशक्तिकरणको अभियन्ता नै बन्न पुगे भोजराज। 

भोजराजले डकुमेन्ट्रीका फुटबल खेल्ने पात्रहरुलाई काठमाडौंमात्र होइन युरोपका विभिन्न शहरसम्मै पुर्‍याए। उनको त्यही अभियानलाई एसियन फुटबल कन्फिडरेसन (एएफसी) १० हजार डलरले पुरस्कृत पनि गर्‍यो।

त्यसपछि उनले जानकी गाउँपालिकामा मैदान बनाउन सुरु गरे। एन्फा, राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी उनको अभियान हेर्न पुगे। सकेको सहयोग पनि गरे। उनलाई त्यहाँ खेलाडी भेला गर्ने चुनौती पनि थियो। उनले बाख्रा चराइरहेका किशोरीदेखि स्कुल हिँडिरहेका किशोरीहरुलाई बल दिएर खेल्न उत्पप्रेरित गरे।

'हामीले बल दिएर ७ बजे मैदानमा आउनु भनेका थियौं। उनीहरु आए। कसैले बल लुकाएनन्,' भाटले भने, 'त्यहाँ खासगरी आर्थिक रुपले कमजोर, थारु, मुक्त कमैयाहरुको बच्चा थिए।'

कोभिड १९ को संक्रमण बढिरहँदा फुटबल खेल्न आउने किशोरीहरुको संख्या पनि थपिँदै थियो। र, जोखिम पनि। त्यसैले मैदानहरु थप्नमा उनी जुटे। सहयोगी हातहरु खोज्न लागे। अहिले कटासेलाई सेन्टर बनाएर ९ ठाउँमा यस्तै अभियानबाट मैदान तयार भएको छ।

'एक पटक १२ सय किशोरी पुगेका थिए। ३०० सय नि पुगे। संख्या फरक परिरहँदो रहेछ। हुनेखाने वर्गका आएनन्। तर हुँदा खाने वर्गबाट भने आउने किशोरीलाई फुटबलको नशा नै लाग्यो। 'चल हो फुटबल खेलने' भनेर खेल्न पाए,' उनले भने, 'उनीहरुको सबैभन्दा राम्रो पक्ष अनुशासन रह्यो।'

+++

उपमेयर कपमा सहभागिता जनाउनुलाई नै भाटले ठूलो उपलब्धिका मानेका छन्। टिमका खेलाडीको पृष्ठभूमि सुनाइरहन्छन् उनी।  

सरस्वती चौधरी आमाबुवा छैनन्। दिदी भिनाजुसँग बस्छिन् उनी। आर्थिक अवस्था कमजोर भएका कारण एसएलसीसम्म मात्र पढ्न पाइन्। घरको आर्थिक समस्याले गर्दा उनी फुपुसँग गतवर्ष मंसिरमा काम गर्न काठमाडौँ पुगेकी थिइन्।

एकदिन गाउँकै साथीहरुसँग कुरा भएछ। उनकी साथीले फुटबल खेल्छौँ भनेपछि उनी घर फर्किइन्। आफ्नो फुटबल खेल्ने चाहना पूरा गर्न उनी गाउँमै मजदुरी गर्न थालिन्। तर, पनि उनले फुटबल खेल्न भने छोडिनन्। फुटबलमा खेल्नुका साथै पढाईमा पनि निरन्तरता दिने उनको सोच छ।

लगभग उनकै जस्तै कथा छ अन्य खेलाडीको पनि। अधिकांश खेलाडी मुक्त कमैया, पिछडा वर्गबाट छन्।

करिश्मा चौधरीको कथा पनि लगभग उस्तै छ। उनको परिवारले नै मासिक १२ हजार पारिश्रमिकमा बाख्रा फर्मको जिम्मा लिएका छन्। फुटबल खेल्नको लागि नै बिहान ४ बजे उठ्छिन् करिश्मा। बिहानै उठेर बाख्राका लागि खोले पकाउनेदेखि घाँस काटेर भुसा मिलाउँदै उनको दैनिकीको सुरुवात हुन्छ। त्यसपछि ६ बजे उनी मैदानमा पुग्छिन्।

फुटबल खेल्न गरेका संघर्षका दिनहरु बताइरहँदा एकाएक उनका आँखा रसाए। फुटबल खेल्नुअघि कराते अभ्यास गर्थिन्। बेलाबेलामा फुटबल पनि खेल्थिन्। तर, गाउँमा फुटबल खेल्ने अरु केटी साथीहरु नभएपछि खेल्न छाड्दै गइन्। उनीसँग खेल्ने साथीहरुको बिहे भइसकेको छ।

पछि गाउँपालिकामा फुटबलको माहोल बन्दा उनी फेरि होमिइन्।

कटासे बकल्वाकी अमृता चौधरी फुटबल खेल्नुको साथै सिकाउँछिन् पनि। स्कुलमा खेल खेल्दा छुट हुन्छ भनेर उनी खेल थालिन्। मजदुरी काम गर्दै कक्षा १२ सम्मको पढाई पुरा गरिसकेकी छिन् उनले। तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण अरु पढाई भने पुरा गर्न सकिनन्।

'कतिपय गाउँका मानिसहरुले हाम्रो छोराछोरी फुटबल खेलेर दुब्लो भए भन्छन्। के पाइन्छ र?' भनेर पनि सुनाउँछन्। तर, खेलकुदका साथसाथै पढ्नु पनि पर्ने तर्क उनी गर्छिन्।

उपमेयर कपमा अन्तिम खेलको अघिल्लो दिन खेलाडी घुम्न निस्किए। बिहान पशुपति गए। दिउँसो चिडियाखाना। अनि बेलुकी जुम्बा डान्सका लागि फिटनेस सेन्टर।

गाउँपालिकाबाट मिलेको सहयोग। अनि खानाका लागि अलग्गै सहयोगी। खाजाका लागि अलग्गै। चिडियाखाना जान होस् या फिटनेस सेन्टर, कसै न कसैले होस्टेमा हैंसे गरिदिए।

एन्फाले यसरी बाहिरबाट आउने टोलीलाई आफ्नो लजिस्टिकको व्यवस्था आफैँ गर्न भनेको छ। अझ रातभरीको अनिँदो र सकसपूर्ण यात्रापछि मैदानमा उत्रिएका उनीहरुले राति होटलसम्म पुर्‍याउने गाडीसमेत पाएनन्। आश्वासन चाहिँ पाएका थिए। गाडी आएन। मधेशको गर्मीबाट आएका उनीहरुले साँझसम्म चिसोमा गाडी कुरिरहे। र, आफैँ व्यवस्था गरेर होटलतिर लागे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell