काठमाडौं : प्रधानमनात्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्।
आज बिहान देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललगायत सहभागी रहेका छन्। पाँचौपटक प्रधानमन्त्री बनेका देउवाको यो पहिलो बिदेश भ्रमण हो।
भ्रमणका क्रममा देउवा अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बेलायतबाट देउवाको टोली नोभेम्बर ३ गते स्वदेश फर्कने र नोभेम्बर ४ तारेखमा बिहान स्वदेश आइपुग्ने छन्। कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ। उनी कार्तिक १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
