PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

खुलेको चार दिनमा नै किन बन्द गरियो सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन ?



पहिलोपोस्ट

खुलेको चार दिनमा नै किन बन्द गरियो सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन ?

काठमाडौंः सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ।

यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको भन्दै प्रणाली बन्द गरेको जनाएको छ। मर्मतका लागि भन्दै बिहीबारदेखि अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो। विभागले नयाँ लाइसेन्सको आवेदन सोमवार साँझ ५ बजेदेखि खुल्ला गरेको थियो।

तर, छ महिनापछि आवेदन खुलेसँगै एकै चोटी चाप पर्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए। उनले लाइसेन्स आवेदन खुल्ला गर्नासाथ करिब ९/१० लाख मानिसले एकैचोटी फारम भर्ने प्रयास गर्दा बुधवारदेखि सर्भर पूर्ण रुपमा बन्द रहेको बताए। प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले जती सक्दो चाँडो आवेदन खुलाउने उनले  दाबी गरेका छन्।

सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि आवेदन दिएर बसेका अझै साढे ३ लाख बढी लाईनमा छन्। यो संख्या काठमाडौं उपत्यकामा रहेका कार्यालयमा सबै भन्दा बढी छ। उपत्यकामा ४ र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन्।

विभागका सूचना अधिकारी भुसालले यसअघि नै आवेदन दिएर बसेकाहरुको पालो पहिले आउने बताए। उनले हालै आवेदन दिएकाहरुको पालो भने उपत्यकामा भए चार महिनामा र उपत्यकाबाहिर भए एक महिनामा आउने जानकारी दिए। 

विभागले हाल नयाँ मापदण्ड अनुसार लाइसेन्सको परीक्षा लिन सुरु गरेको छ । नयाँ मापदण्ड अनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल) परीक्षाका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell