PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

१२ वर्षपछि कोपमा नेपालका कार्यकारी प्रमुखको सहभागिता, विश्वका नेताहरुको सम्मेलनमा को-को हुँदै छन् सहभागी?



पहिलोपोस्ट

१२ वर्षपछि कोपमा नेपालका कार्यकारी प्रमुखको सहभागिता, विश्वका नेताहरुको सम्मेलनमा को-को हुँदै छन् सहभागी?
फोटो : c-mw.net

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन कोप-२६ मा सहभागी हुन बेलायत प्रस्थान गरेका छन्।

नेपाली प्रतिनिधि टोलीको नेतृत्व गर्दै देउवाले स्कटल्याण्डको ग्लास्गोमा हुने कोप-२६ अन्तर्गतको विश्व नेताहरुको सम्मेलन (वर्ल्ड लिडर समिट)मा सम्बोधन गर्ने छन्। सोमवार र मंगलवार हुने सम्मेलनमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

१२० राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुका साथै प्रतिनिधिहरु सहभागी हुने सम्मेलनमा प्रधानमन्त्री देउवाले राष्ट्रिय वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री देउवाको यो सहभागिता युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइटमेट चेन्ज (यूएनएफसीसीसी) को २६ औं सम्मेलन कोप-२६ मा नेपालको तर्फबाट १२ वर्षपछिको कार्यकारी प्रमुखको सहभागिता हो।

यसअघि डेनमार्कको कोपनहेगनमा सन् २००९ मा भएको कोप १५ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल कार्यकारी प्रमुखको हैसियतमा सहभागी भएका थिए। त्यसयता नेपालको तर्फबाट कार्यकारी प्रमुख सहभागी हुन पाएका थिएनन्।

त्यसो त चार वर्ष अगाडि कोप २४ मा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन्। २०१८ मा पोल्याण्डको क्याटाविसमा भएको सम्मेलनमा राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी थिइन्।

यस्तो छ विश्व नेताहरुको सम्मेलनको कार्यतालिका

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निमन्त्रणामा विश्वका विभिन्न देशका राष्ट्र/सरकार प्रमुखहरु ग्लास्गोमा भेला हुँदै छन्।

नोभेम्बर १ र २ (कात्तिक १५ र १६)मा सम्मेलन हुँदै छ। विश्व नेताहरु ग्लास्गोमा आइतवार साँझ अथवा सोमवार बिहान पुग्ने बताइएको छ। सम्मेलन स्थल ब्लु जोनमा विश्व नेताहरु बिहान १८ बजेदेखि १२ बजेसम्म पुग्ने छन्।

सोमवार स्थानीय समयअनुसार मध्यान्न १२ बजेदेखि १ बजेसम्म उद्घाटन सत्र हुने कार्यतालिका तय भएको छ। त्यसपछि १ बजेदेखि पाँच बजेसम्म विश्वका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री देउवा सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुने छन्। उनले सम्मेलनमा नेपालको राष्ट्रिय धारणा राख्ने छन्।

नोभेम्बर १ सोमवार साँझ बेलायत सरकारको तर्फबाट प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गर्ने राष्ट्र प्रमुख र सरकार प्रमुखका लागि आयोजना गरेको भीभीआईपी रिसेप्सन कार्यक्रम राखेका छन्। सो रिसेप्सनमा प्रधानमन्त्री देउवा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्मेलन अन्तर्गत मंगलवार ९ बजेदेखि ५ बजेसम्म बाँकी देशहरुको तर्फबाट राष्ट्रिय वक्तव्य पेश हुनेछ।

को-को  हुँदैछन् सहभागी?

नेपालका तर्फबाट प्रधानमन्त्री देउवाको नेतृत्वमा २० जनाको टोली ग्लास्गो उडेको छ। सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रोम पुगेका छन्। उनी इटालीको भ्रमण सकेर ग्लास्गो पुग्ने छन्।

रोममा अक्टोबर ३० र ३१ मा हुने जि २० सम्मेलनमा विश्वका २० देशका नेताहरु त्यहाँ भेला हुँदैछन्। त्यहाँ भेला भएका नेताहरु आइतवार साँझ वा सोमवार बिहान कोप-२६ सम्मेलन स्थल ग्लास्गोको स्कटिस् इभेन्ट क्याम्पसको एसईसी सेन्टरमा पुग्ने छन्।  

सम्मेलनमा आयोजक राष्ट्र बेलायतका तर्फबाट प्रधानमन्त्री बोरिस जोन्सन सहभागी हुँदै छन्। अर्को आयोजक इटालीका प्रधानमन्त्री मारियो द्राघी पनि सहभागी हुँदै छन्।

त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेन पनि सम्मेलनमा सहभागी हुँदै छन्। राष्ट्रपति बाइडेनले सेप्टेम्बरमा कोप २६ अगाडि विश्व नेताहरुसँग जलवायु परिवर्तनका मुद्दामा भर्चुअल रुपमा सम्मेलन आयोजना गरेर कोप २६ मा सहभागी हुने बताएका थिए।

ट्रम्प प्रशासनले २०१५ को पेरिस सम्झौताबाट पछि हट्ने घोषणा गरेको अवस्थामा बाइडेन ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिन नै पेरिस सम्झौतामा फर्किने भन्दै जलवायु परिवर्तनमा विश्वसँग एक भएर काम गर्ने घोषणा गरेका थिए।

त्यस्तै सम्मेलनमा स्कटल्याण्ड सरकारका प्रथम मन्त्री निकोला स्टर्जन पनि सहभागी हुने छन्।

सम्मेलनमा प्रिन्स चार्ससँगै डचेस अफ कोर्नवाल, प्रिन्स विलियम्स तथा डचेस अफ काम्ब्रिजसमेत सहभागी हुनेछन्।

सम्मेलनमा इजरायलका प्रधानमन्त्री नाफताली बेनेट, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, टर्कीका राष्ट्रपति रिसप तैयप एर्दोगान, फ्रान्सका राष्ट्रपति इमानुएल मार्कोन पनि सहभागी हुनेछन्।

त्यस्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउ, कोलम्बियाका राष्ट्रपति इभान दुक, स्विडेनका प्रधानमन्त्री स्टेफान लोफभन, स्वीट्जरल्याण्डका राष्ट्रपति गाय पार्मेलिन, दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन सहभागी हुने स्कटल्याण्डको समाचार संस्था स्कटम्यानले जनाएको छ।

सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि चिनफिङलगायतका विश्वका केही नेताहरु भने सहभागी हुने छैनन्। 

सम्मेलनमा राष्ट्रसंघका महासचिवसहित, फ्राइडे फर फ्युचर मोभमेन्टकी सुरुवातकर्ता ग्रेट तुनवर्गलगायत पनि सहभागी हुने छन्।

चिनियाँ राष्ट्रपति सहभागी नभए पनि चिनियाँ जलवायु दूत सेइ चनहुवा सम्मेलनमा सहभागी हुँदै छन्। उनी विगत १० वर्षदेखि कोप सम्मेलनहरुमा सहभागी हुँदै छन्। कोपनहेगन, पेरिस सम्मेलनमा प्रमुख भूमिका खेलेका चिनियाँ प्रतिनिधित्व गर्ने छन्।

द्विपक्षीय भेट

यसैबीच प्रधानमन्त्री देउवा ग्लास्गोमा रहँदा केही द्विपक्षीय भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। कोप-२६ ‘साइडलाइनमा प्रधानमन्त्री देउवाले राष्ट्र तथा सरकार प्रमुखहरुका साथै अन्य महानुभावहरुसँग द्विपक्षीय भेट गर्नुहुनेछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ।

परराष्ट्रले उच्चस्तरीय भेट भने पनि कुन कुन देशसँग द्विपक्षीय भेट हुने सार्वजनिक गरेको छैन। यद्यपि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्रीसँग द्विपक्षीय भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। 

साइडलाइनमा हुने द्विपक्षीय भेटवार्ता भने बढीमा ३० मिनेटमात्र हुनेछ। सम्मेलन साइडलाइनमा आयोजकले द्विपक्षीय भेटवार्ताका लागि स्थान उपलब्ध गराउने छ। त्यसका लागि अग्रीम भेटवार्ताको लागि दुबै पक्षबाट आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। साथै उक्त भेटवार्ताका लागिप्रति भेटवार्ता ३० मिनेटको समय उपलब्ध गराइने बताइएको छ।

प्रधानमन्त्री देउवा मंगलवार बिहान बेलायती प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमासमेत सहभागी हुनेछन्।

देउवा बुधवार १७ गते त्यहाँको रोयल बोटानिक गार्डेन इडिनवर्ग पुग्नेछन्। त्यहाँ हुने कार्यक्रमलाई सम्बोधन गर्ने छन्। प्रधानमन्त्रीले त्यहाँ रहेको नेपाली बगैँचामा वृक्षारोपण गर्ने कार्यक्रमसमेत तय भएको छ।

देउवा बुधवार बेलायतबाट नेपालका लागि प्रस्थान गर्नेछन् र बिहीवार नेपाल पुग्नेछन्। कोप २६ यस वर्ष ३१ अक्टोवर देखि १२ नोभेम्बरसम्म ग्लास्गोमा हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell