काठमाडौं : नेकपा (एमाले)ले १० औँ महाधिवेशनका लागि प्रतिनिधि संख्या बढाउने निर्णय गरेको छ। ललितपुरको च्यासलमा बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि संख्या बढाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार केन्द्रीय कमिटी सदस्यहरुले महाधिवेशन प्रतिनिधिको संख्याबारे प्रश्न उठाएपछि प्रतिनिधिको संख्या बढाइएको हो। बिहीवार बसेको स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको थियो। उक्त निर्णयलाई परिमार्जन गर्दै केन्द्रीय कमिटीको बैठकले १ हजार ९९९ जना महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।
‘थप्नुपर्ने व्यापक सुझाव आएपछि ४ सय प्रतिनिधि थप्ने केन्द्रीय कमिटीबाट निर्णय भएको छ,’ ज्ञवालीले भने।
यस्तै, बैठकले महाधिवेशन व्यवस्थापन समितिमा रघुजी पन्त र शेरबहादुर तामाङलाई थप गरेको छ। अब व्यवस्थापन समिति २३ सदस्यीय भएको छ।
कात्तिक २७ गते सबै क्षेत्रमा एकैपटक प्रतिनिधि निर्वाचन गर्ने एमालेको निर्णय छ। महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग हुनेछ। अर्को केन्द्रीय कमिटीको बैठक महाधिवेशनको अघिल्लो दिन मंसिर ९ गते बस्ने बताइएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी झनै एक ढिक्का भएको बताएका थिए।
‘पार्टी एक ढिक्का रहेको, नीति विचारमा एक भएको सन्देश दियो। पालिका र वडा अधिवेशन नयाँ गतिमा बढेको छ,’ ओलीले भने।
महाधिवेशनमा ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न ध्यान दिनुपर्ने बताएका छन्। निर्वाचन भएमा पार्टी फुटेको बेलामा गलत सन्देश जाने भन्दै ओलीले उक्त निर्देशन दिएका हुन्।
