दोलखा: दोलखाको चरिकोटमा हुने पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ रिङ रेस्लिङ (आरडब्लू) प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक प्रदेश खेलकुद विकास परिषद् वाग्मती र नेपाल रिङ रेस्लिङ एसोसिएशनले शुक्रबार पत्रकार भेटघाट गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
प्रतियोगितामा सहभागी हुन खेलाडी शुक्रबार आयोजनास्थल पुगेका छन्। सम्पूर्ण खेलाडीलाई पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसहितका जिल्लाका अधिकारीले फूलमालासहित स्वागत गरेका थिए। स्वागत कार्यक्रममा पूर्व पर्यटनमन्त्री पोखरेलसहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित खड्का, जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुन्दर कार्की, विभिन्न खेलकुद संघका पदाधिकारी उपस्थित थिए। खेलाडीको स्वागत गर्दै पोखरेलले अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय खेलको आयोजनाबाट जिल्लाको खेलकुदसँगै पर्यटन विकासमा समेत टेवा पुग्ने बताए।
खेलकुदसँगै पर्यटनको प्रवर्द्धन गर्ने उद्धेश्यले पहिलोपटक आयोजना हुन लागेको रेस्लिङ शनिबार दिउँसो सञ्चालन हुँदैछ। चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा हुने प्रतियोगितामा देशभरका उत्कृष्ट रेस्लरले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगिताका लागि मञ्चदेखि रिङ व्यवस्थापन लगायतका सम्पूर्ण काम सकिएको बताइन्। ‘मञ्च व्यवस्थापनदेखि रिङ व्यवस्थापनको काम सकिएको छ। सबै खेलाडी कार्यक्रम स्थलसम्म आइपुगेका छन्। जिल्लाबासीले खेलाडी र खेललाई न्यायो स्वागत गर्नुभएको छ’, महासचिव श्रेष्ठले भनिन्।
प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, चटान, द युव, सिजे, एससी, जोन लगायत महिला तथा पुरुष रेस्लरले प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र प्राप्त गर्ने महासचिव श्रेष्ठले बताइन्।
