PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

सांसद प्रदीप यादवलाई कारवाही गर्ने जसपाको तयारी, सोध्यो स्पष्टीकरण



राधेश्याम पटेल

सांसद प्रदीप यादवलाई कारवाही गर्ने जसपाको तयारी, सोध्यो स्पष्टीकरण

वीरगंज : जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई कारबाही गर्ने तयारी गरेको छ। जसपाले पार्टी विरोधी गतिविधिमा लागेको भन्दै केन्द्रीय सदस्यसमेत् रहेका यादवलाई स्पष्टीकरण सोधेको छ। बिहीवार तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै सात बुँदे स्पष्टिकरण सोधिएको हो। 

पार्टी कार्यालयका प्रमुख प्रमुख प्रकाश अधिकारीले 'तपाईँलाई कारवाही किन नगर्ने' भन्दै तीन दिन भित्र चित्तबुझ्दो जवाफ पेस गर्न पत्र लेखेका हुन्। 

मन्त्रिपरिषदमा नपरेको झोकमा पार्टीको झण्डा जलाउने, पार्टीको कार्यालयमा तोडफोड गरेको, पार्टी अध्यक्षको पुत्ला दहन गरेको, केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको जस्ता ७ बुँदे आरोप लगाएर तीन दिन भित्र जवाफ पेस गर्न पत्र काटिएको छ। 

'अहिलेलाई धेरै कुरा नगरौँ, पार्टीको विधान र आचरण विपरित काम गरेकोले पार्टीले उनलाई आन्तरिक रुपमै कारबाहीको प्रकृया अघि बढाएको छ,' पार्टी कार्यालय प्रमुख अधिकारीले भने। 

यता यादवले भने आफूलाई स्पष्टीकरण सोधिएको विषयमा जानकारी नभएको बताए। 'हाल सम्म कुनै पत्र मकहाँ आएको छैन,' उनले भने। 

उनले पार्टीमा केही नेताहरुको राजनीति धेरै बढेको र पार्टी बर्बादीको दिशामा अघि बढेको आरोप लगाए। 'पार्टीमा यस्तो स्पष्टीकरण सोध्ने कुनै छलफल वा निर्णय भएको छैन,मलाई जानकारी भएन,पत्र आएपछि कुन बैठकको निर्णय अनुसार कुन विधानको दफा अनुसार स्पष्टीकरण सोधिएको हो,बुझेर भनौँला,' उनले भने।

सत्ता गठबन्धनले सरकार विस्तारका क्रममा यादव मन्त्रिपरिषद्मा नपरे पछि असन्तुष्ट रहँदै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell