PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सोरुमबाट सटरको ताला काटेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले गर्‍यो सार्वजनिक



रासस

सोरुमबाट सटरको ताला काटेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

कञ्चनपुर : बेलौरी नगरपालिका-४ बेलौरी बजारको केएम इन्टरप्राइजेज बजाज सोरुमबाट सटरको ताला काटी सिसाको ढोका तोडेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका २० वर्षीय विवेक बम, १८ वर्षीय किरन नाथ, सोही नगरपालिकाको वडा नम्बर १२ कालागौंडीका १९ वर्षीय ठग्गी रानालाई मोटरसाइकल चोरीको अभियोगमा पक्राउ गरिएको छ।

यसैगरी, सोही चोरीमा संलग्न अर्का पक्राउ पर्नेमा शुक्लाफाँटा-१ वन्साहा बस्ने १९ वर्षीय पारस विष्ट रहेका छन्। पक्राउ परेका चारै जनाको साथबाट प्रहरीले चोरी गरिएका तीन पल्सर मोटरसाइकल बरामद गरेको छ।

यही कात्तिक ७ गते राति चारै जनाले सोरुमको सीसीटिभीको तार काटेर सटर तोडी मोटरसाइल चोरी गरेका थिए।

‘चोरी भएका मोटरसाइकल तीन दिनको अवधिमै बरामद गरेका छौँ’, प्रहरी नायव उपरीक्षक न्यौपानेले भने, ‘चोरी गर्नेहरुलाई समेत खटिएको अनुसन्धान टोलीले पक्राउ गरेको छ।’

उनका अनुसार पक्राउ परेकामाथि कानुनबमोजिम कारबाही भइरहेको छ।

त्यसैगरी, प्रहरीले आज पुर्नवास नगरपालिका-११ डोकेबजारबाट वेवारिसे अवस्थाको १९ हजार ५०० रुपैयाँ मूल्य बरावरको अवैध पटाका बरामद गरेको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले भारतबाट ल्याउँदै गरेको पटाका बरामद गरेको छ।

बाख्रा चोरी गर्ने पक्राउ

शुक्लाफाँटा नगरपालिका-७ स्टेशनपुरका १८ वर्षीय ओमप्रकाश भण्डारीलाई प्रहरीले आज बाख्रा चोरी गरेको अभियोगमा पक्राउ गरेको छ। आज बिहान शुक्लाफाँटा-५ वनसमितिकी लक्ष्मी ऐडीको गोठबाट दुई बाख्रा चोरी गरेर लग्दै गरेका भण्डारीलाई इलाका प्रहरी कार्यालय झलारीको गस्ती टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका भण्डारीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए। चाडपर्वका बेला झलारी क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell