दोलखा: पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभी वेटतर्फको उपाधि चट्टानले जितेका छन्। दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन्।
आरडब्लूको हेभी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे। बेल्टसहित उनले १ लाख ५० हजार रुपैयाँ हात पारे।
प्रदेश खेलकुद विकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङको आयोजना गरेका हुन्। खेलसँगै जिल्लाको पर्यटकीय प्रवद्र्धन गर्ने उद्धेश्यले रेस्लिङको आयोजना गरिएको थियो।
प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते। उनले उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे। ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने। उपाधि सहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे।
लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने। साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे। ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने। उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे। रोयल ब्याटल म्याचमा साइन विजेता बने। उनले ४५ हजार रुपैयाँ प्राप्त गरे।
कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए। उनले खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताए।
