स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा रियल मड्रिडले एल्चेमाथि जित निकालेको छ। म्यानुअल मार्टिनेज स्टेडियममा सम्पन्न खेलमा मड्रिडले १० खेलाडीमा सीमित घरेलु टोली एल्चेमाथि २-१ गोलअन्तरले जित निकालेको हो।
मड्रिडको जितमा भिनिसियस जुनियरले दोहोरो गोल गरे। खेलको २२ औं मिनेटमा भिनिसियको गोलमा अग्रता बनाएको मड्रिड पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोली १० खेलाडीमा समेटियो। खेलको ६३ औं मिनेटमा रउल गुटीले मड्रिडका टोनी क्रुसमाथि खराब ट्याकल गरेपछि रेड कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिए। त्यसको १० मिनेटमा लुका मोड्रिचको पासमा भिनिसियसले गोल गर्दै अग्रता दोब्बर बनाए। उता घरेलु टोलीका लागि ८६ औं मिनेटमा पेरे मिलाले सान्त्वना गोल फर्काए।
जितसँगै ११ खेलबाट २४ अंक जोडेको रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
