PahiloPost

May 15, 2024 | २ जेठ २०८१

म्यानचेस्टर सिटी पराजित, लिभरपुल बराबरीमा रोकियो



पहिलोपोस्ट

म्यानचेस्टर सिटी पराजित, लिभरपुल बराबरीमा रोकियो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग पराजित भएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटी क्रिस्टल प्यालेससँग २-० गोलअन्तरले पराजित भएको हो।

विलफ्राइड जाहाको गोलमा खेलको दोस्रो मिनेटमा नै क्रिस्टल प्यालेसले खेलमा अग्रता बनाएको थियो। अर्कोतर्फ पहिलो हाफको इन्ज्युरी समयमा सिटीका एमेरिक लापोर्टे रेड कार्ड खाँदै बाहिरिँदा सिटी १० खेलाडीमा सीमित भयो। दवाबमा आएको सिटीमाथि ८८ औं मिनेटमा कोनोर गल्लाघेरले गोल थप्दै अग्रता दोब्बर बनाए। र, क्रिस्टल प्यालेसले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा लिभरपुल ब्राइटोनसँग बराबरीमा रोकियो। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोलीले अग्रता जोगाउन नसक्दा अंक बाँड्न पुगेको हो। खेलको चौथो मिनेटमै जोडन हेन्डरसनको गोलमा अग्रता बनाएको लिभरपुललाई २४ मिनेटमा साडियो मानेले गोल थप्दै अग्रता दोब्बर बनाएका थिए।

उता ब्राइटोनका इनोक एमवेपूले ४१ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफमा लिभरपुल २-१ ले अघि रह्यो। दोस्रो हाफमा ब्राइटोनका लिओनार्दो ट्रोसआर्डले गोल थपे। उनले खेलको ६५ औं मिनेटमा गोल गर्दा खेल २-२ को बराबरीमा रोकियो।

यो सँगै २२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने २० अंक जोडेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ। शीर्षस्थानमा २५ अंकसहित चेल्सी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell