धार्मिक गन्तव्यमात्र हैन दोलखाको कालिञ्चोक। यहाँबाट हिमशृंखलाका मनोरम दृश्य पनि देख्न सकिन्छ।
भक्तहरु आफ्नो इच्छा पुरा गराउन कालिञ्चोक भगवती मन्दिर पुग्ने गर्छन् भने फिरन्तेहरु यहाँको प्राकृतिक रस स्वादन गर्न। समुद्री सतहबाट ३,८४२ मिटरको उचाइमा रहेको यस क्षेत्र टलल हिमाल टल्कने र फुरुरु हिउँ पर्ने भएकाले पनि प्रसिद्ध छ।
मध्य कात्तिकको बिहान भने कालिञ्चोक आसपास सफा र आकाश खुला देखिएको थियो। सुर्योदयसँगै मन्दिर खुल्दा यहाँको वातावरण आनन्दमय सुनिन्थ्यो। परपर रोल्वालिङ, लाङटाङ र गौरीशंकर हिमश्रृङ्खला टलल टल्किएको देखिन्थ्यो। कुरी बजारका सुविधा सम्पन्न होटल रिसोर्ट पर्यटकको पर्खाईमा थियो।
चरिकोट बजारबाट १७ किलोमिटर बाटो पार गरेपछि कुरी बजार पुगिन्छ। कुरीबाट कालिन्चोक मन्दिर पुग्न लगभग एक घण्टा हिँड्नुपर्छ। यसो त कुरी बजारबाट केबलकार हुँदै मन्दिर पुग्ने व्यवस्था पनि गरिएको छ। कोरोना संक्रमणपछि केही सुस्ताएको यहाँको पर्यटन पुन सक्रिय हुन थालेको छ। शुक्रवार र शनिवार यहाँका होटलहरु भरिन थालेका छन्। हिउँ पर्दा यहाँका होटलले भार थाम्न नसक्नेसमेत यहाँका व्यवसायीहरु बताउँछन्।