काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जाने कार्यक्रम तय भएको छ। बुद्धजन्मस्थल लुम्बिनीमा उनले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए।
कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमेत सहभागी हुने बताइएको छ।
लुम्बिनीको कार्यक्रम सकिएपछि राष्ट्रपतिद्वारा आज नै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइट जेड बुद्धमूर्तिको अनावरण गर्ने कार्यक्रम छ। सो बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा बर्माबाट ल्याइएको हो।
फाउण्डेशनको निमन्त्रणामा स्पेनको एक्सत्रेमादुरा प्रदेशका सभामुख बेलानका मार्टिन डेलगाडो, संस्कृतिमन्त्री नुरिया फलोरेश रेडोन्डोसहित प्रतिनिधिमण्डल पनि लुम्बिनीमा आइपुगेका छन्।
