PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

लाइसेन्सका लागि अनलाइन आवेदन प्रणालीको समस्या अझै भएन समाधान, मद्रास कम्पनीसँग सिस्टमको चाबी



पहिलोपोस्ट

लाइसेन्सका लागि अनलाइन आवेदन प्रणालीको समस्या अझै भएन समाधान, मद्रास कम्पनीसँग सिस्टमको चाबी

काठमाडौं : सवारीचालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली अझै पूर्णरूपमा संचालनमा आएको छैन। कहिलेदेखि सिस्टम सहज हुन्छ भन्नेमा यातायातका कर्मचारीसँग जवाफ छैन। उनीहरु पदाधिकारी अरुलाई दोष देखाएर पन्छिने गरेका छन्।

पछिल्लोपटक कात्तिक ८ गतेबाट संचालनमा आएको अनलाइन प्रणाली चार दिनपछि नै प्राविधिक समस्या आएको थियो। त्यसपछि मर्मतका लागि बन्द गरिएको थियो। बन्द गरिएको करिब पाँच घण्टापछि आंशिक रूपमा संचालनमा आएको भए पनि उक्त सिस्टम अझै पूर्णरूपमा भने चलेको छैन।

'पूरै समस्या सटआउट भएको छैन। कसैको निवेदन लिइरहेको छ, कसैको लिँदैन,' यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले भने, 'मद्रास कम्पनीसँग सिस्टमको चाबी छ। हामीलाई प्राविधिक समस्या हो भन्छन्। छिट्टै समाधान हुने बताएका छन्।' यातायातको हालको प्रणाली भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले बनाएको हो।

लाखौंले एकैपटक आवेदन दिन खोजेका कारण समस्या आएको हुन सक्ने भुसालले बताए। अनलाइन प्रणालीमा समस्या आइरहनु यातायात व्यवस्था विभागका लागि नौलो घटनामा पर्दैन तर सिस्टम दुरुस्त बनाउनुको साटो जिम्मेवार पदाधिकारी कमजोरी अर्काको भन्दै पन्छिने चलन पनि पुरानै हो।

कार्यालयले फाराम अनलाइन भर्नू भन्छ, सिस्टममा फाराम भरेपछि मात्रै लिखित र ट्रायल परीक्षामा सहभागी हुन पाइन्छ। तर सिस्टमले आवेदन नै नलिँदा सेवाग्राही हैरान छन्।

बन्द भएको ६ महिनापछि अनलाइन प्रणाली संचालनमा ल्याइएको थियो। सरकारले कोरोना संक्रमण रोक्न भन्दै निषेधाज्ञा जारी गरेका कारण वैशाख १६ गतेदेखि लाइसेन्सको ट्रायल परीक्षा र अनलाइन आवेदन दुवै रोकिएको थियो। दशैंअघि नै ट्रायल परीक्षा सञ्चालनमा आएको भए पनि अनलाइन प्रणाली भने चलेको थिएन।

विभागले अनलाइन प्रणालीलाई अनलिमिटेड बनाएको थियो। जसका कारण लाखौंले अनलाइन आवेदन दिएको भए पनि सीमित ट्रायल सेन्टरहरु रहेका कारण परीक्षा दिन पाएका थिएनन्। करिब ४ लाखले अनलाइन आवेदन दिएर ट्रायल परीक्षा कुरिरहेका छ्न।

माग थेग्नै नसक्ने भन्दै सो ब्याकलग घटाएर मात्रै अनलाइन आवेदन खोल्ने योजनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभाग थिए। अनलाइन आवेदन प्रणाली खोल्न दबाब आएपछि विभागले कात्तिक ८ गते बेलुकी ५ बजेबाट पुनः संचालनमा ल्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell