PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विश्व कुइकेलको 'सुगन्धपुर' सार्वजनिक, १९ कथामा फरकफरक भूगोलको जनजीवन  



पहिलोपोस्ट

विश्व कुइकेलको 'सुगन्धपुर' सार्वजनिक, १९ कथामा फरकफरक भूगोलको जनजीवन  

लेखक विश्व कुइकेलको पहिलो कथा सङ्ग्रह 'सुगन्धपुर' सार्वजनिक भएको छ। फिनिक्स बुकले प्रकाशन गरेको कथा सङ्ग्रहमा १९ वटा कथा समावेश छन्।

कथाहरुमा नेपाली समाजका विविध घटना र परिवेशलाई सजीवरुपमा उठान गरिएको छ। आफ्नो जीवन भोगाइका क्रममा लेखककले देखे सुनेका पात्र र परिवेशलाई सरल किसिमले पस्किन सकेको प्राध्यापक खगेन्द्र लुइटेलले टिप्पणी गरे।

'समाजमा ब्याप्त अनेक किसिममा उत्पीडिनलाई शब्दका माध्यमबाट पाठकसामु ल्याउनसक्नु लेखकको सबल पक्ष हो,' कुइकेलका कथाहरुमाथि टिप्पणी गर्दै लुइटेलले भने, 'विश्व कुइकेल नेपाली साहित्यमा सुनिने नाममा नयाँ भए पनि कथाहरु अध्ययन गर्दा उनी पुराना झै मलाई लाग्यो। लेखन शक्ति अब्बल रहेछ।' प्रशासनिक क्षेत्रमा रहेका कर्मचारीले बचेखुचेको समय खेर नफाली साहित्यको क्षेत्रमा आउनुलाई उनले सुखद् पक्षका रुपमा व्याख्या गरे। 

समालोचक राजन मुकारुङले साहित्य समाजको ऐना भएको बताउँदै लेखक कुइकेलको साहित्यक सृजनाको प्रशंसा गरे। कथाकारले नेपाली  परिवेशको विभिन्न कथा समावेश गरेर सङ्ग्रह ल्याउनु सुखद रहेको उनको भनाई थियो। 

'जुनसुकै साहित्यक सृजना तब अब्बल हुन्छ जब त्यसभित्र समाजका अनेक पक्षलाई जस्ताको तेस्तै टिपेर अक्षरको माध्यमबाट  बाहिर ल्याइन्छ। लेखकको सवल पक्ष भनेकै यही हो,' मुकारुङ्ले भने। 

कार्यक्रममा मानवशास्त्री सचिन घिमिरेले सृजनाको माध्यमबाट सर्जकले समाज बदल्न सक्ने धारणा राखे। 'सुगन्धपुर कथा सङ्ग्रह काँठको जनजीवनदेखि नेपालको फरक भूगोलको परिवेश समेटन सफल छ। नेपाली समाजमा भए गरेका अनेक किसिमका किस्साहारुलाई कथाकारले बडो रोचक किसिमले बाहिर ल्याउन सक्नु कथाकारको खुबी हो,' उनले बताए। साहित्यकार विना थिङले पनि सुगन्धपुर कथा सङ्ग्रह नेपाली साहित्यमा पठनयोग्य सामग्री आएको भन्दै खुशी ब्यक्त गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell