काठमाडौं: नेपाली यू २३ फुटबल टोलीले आज लेबनानको यू २३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ। एएफसी यू २३ एसियन कप क्वालिफायर्स अन्तर्गतको खेलमा नेपाल र लेबनान आज साँझ पौने ५ बजे रिपब्लिकन सेन्ट्रल स्टेडियममा आमनेसामने हुनेछन्।
क्वालिफायर्सको आफ्नो पहिलो खेलमा नेपालले इरानसँग ४-० गोलअन्तरले पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा ताजकिस्तानसँग ६-० को फराकिलो हार ब्यहोरेको थियो।
ताजकिस्तान र इरान समान दुई खेलमा समान शीर्ष छ अङकसहित पहिलो र दोस्रो स्थानमा छन्। तेस्रो स्थानका लेबनान र चौथो स्थानको नेपाल अङ्कविहीन छन्। त्यस्तै ताजकिस्तान र इरानबीचको खेलले समूह ‘बी’ को विजेताको टुङगो लाग्ने छ। यस समूहको शीर्ष टोलीले एएफसी यु २३ एशियन कप खेल्नेछन्।
यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एशियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका छ।
