ग्रुप २० देशका राष्ट्र तथा सरकार प्रमुखहरु यतिबेला रोममा भेला भएका छन्। शनिवार र आइतवार जि-२० सम्मेलनमा सहभागी भएर राष्ट्रप्रमुखहरु ग्लास्गोमा सोमवार र मंगलवारका लागि तय भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२६ अन्तर्गत विश्वका नेताहरुको सम्मेलनमा सहभागी हुन् स्कटल्याण्ड तर्फ जाँदैछन्।
यी नेताहरुको बिचमा चिनियाँ राष्ट्रपति सि चिनफिङ भने छैनन्। ग्लास्गोमा पनि सि पुग्ने छैनन्। त्यहाँ कार्वन उत्सर्जन रोक्ने चिनियाँ प्रतिवद्धता माथिसमेत छलफल हुने छ।
चिनियाँ राष्ट्रपतिले विगत ६०० दिन देखि आफ्नो भूमि बाहिर पाइला टेकेका छैनन्। विगत २१ महिना देखि राष्ट्रपति सि देश बाहिर नगएको विषयलाई पश्चिमा सञ्चार माध्यमले चासोका साथ समाचार प्रकाशित गरेका छन्।
न्यूयोर्क टाइम्सले सिको विश्व नेताहरुसँग प्रत्यक्ष भेट हुन नसकेको विषयलाई उनी विश्व नेताहरु माझ हराएको टिप्पणी गरेको छ। सिको विदेश भ्रमण नहुनमा कोभिड-१९ कारण भएको टिप्पणी समाचारमा उल्लेख छ। सिको यो अनुपस्थितीले चीनलाई ग्लोवल स्टेजमा अमेरिकाको वैकल्पिक नेताको रुपमा स्थापित गर्ने चिनियाँ महत्त्वकांक्षालाई समेत जटिल बनाएको उल्लेख छ।
सिको नेतृत्वमा चीन अब धेरै सहयोगी नरहेको समेत टिप्पणी समाचारमा गरिएको छ।
चीन यतिबेला 'भित्र फर्किएको' न्यूयोर्क टाइम्सले जनाएको छ। साथै उसले सिको स्वास्थ्य तथा आन्तरकि राजनीतिक 'षड्यन्त्र'हरुमा रुमलिएको दाबी गरेको छ। अर्को वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको कंग्रेसमा सी अर्को पाँच वर्षका लागि नेता बन्ने तयारी गर्दै गर्दा 'फेस-टु-फेस' डिप्लोमेसी सिको लागि प्राथमिकतामा नपरेको दाबी गरिएको छ, जुन राष्ट्रपति कार्यालयमा सिको पहिलो वर्षका क्रममा थियो।
'चीनमा यतिबेला बंकर मानसिकता रहेको' रोमियम ग्रुपका रिसर्च फेलोलाई उदृत गर्दै न्यूयोर्क टाइम्सले भनेको छ।
वालस्ट्रिट जर्नलले पनि सिले तत्कालै ग्लोवल डिप्लोमेसीलाई अगाडि बढाउने सम्भावना नरहेको जनाएको छ। यतिबेला उनले ‘फेस-टु-फेस’ भन्दा पनि भिडियो लिंक तथा टेलिफोनबाट आफ्ना समकक्षीसँग संवादलाई प्राथमिकतामा राखेको समाचारमा उल्लेख छ।
सि ६०० दिन देखि बाहिर ननिस्किएको भन्दै अमेरिकासँगको सम्बन्ध पनि प्रभावित भएको ब्लुमबर्गले गत सेप्टेम्वर ९ मै लेखेको छ। जलवायु परिवर्तन लगायतका विश्वका मुद्दाहरु तथा अमेरिकासँगको विवादका विषयहरुमा प्रगति हासिल गर्न सिको अनुपस्थितिले रुकावट गरेको ब्लुम्वर्गले टिप्पणी गरेको छ।
सेप्टेम्वरमा मात्र ब्रिक्स राष्ट्रका नेताहरुको समिटमा भर्चुअल रुपमा उपस्थित सि यो एक वर्षमा दर्जन बढी भिडियो कन्फ्रेन्सहरुमा सहभागी भएको र विश्वका नेताहरुसँग ६० पटक टेलिफोन संवाद गरेको ब्लुमबर्गले जनाएको छ। सिले यसबिच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इमानुयल मार्कोनसँग पटक पटक टेलिफोन संवाद गरेका छन्।
सेप्टेम्वरमै अमेरिकी राष्ट्रपति बाइडेनसँग सिले टेलिफोन संवाद गरेका थिए। सिले आफूलाई देशभित्रै समित राख्दा चीन र पश्चिमा देशहरुबिचको सम्बन्धमा प्रभाव पर्ने उल्लेख छ।
२०२० को जनवरी १८ मा सि अन्तिम पटक विदेश भ्रमणमा निस्किएका थिए। म्यानमार पुगेका उनले त्यहाँका राष्ट्रपति (हाल अपदस्त) विन मिन्टसँग भेट गरेका थिए। त्यतिवेला वुहानमा ६० भन्दा बढी कोभिड-१९ का केसहरु पुष्टि भएका थिए।
त्यतिबेला उनको भ्रमणमा कोभिड-१९ को ऐजेन्डा थिएन। भ्रमणमा बढी बेल्ट एण्ड रोड इनिसिएटिभको विषयमा छलफल भएको थियो। विश्वका ४८ लाख जनसंख्याको ज्यान लिएको कोभिड-१९ को विषयमा सो भेटमा छलफल भएको थिएन्। सि म्यानमारबाट फर्किएको पाँच दिनपछि वुहानलाई सिल गरियो। लकडाउन लागु भयो। त्यसयता उनी आफ्नो देश बाहिर गरेका छैनन्।
सि राष्ट्रसंघको महासभामा सम्बोधन गर्न पनि पुगेनन्। त्यसयता यस्ता बहुपक्षीय मञ्चहरुमा सि ठूला स्क्रिनहरुमा देखिने गरेका छन्। जि-२० मा पनि त्यस्तै भयो। सम्भवत: जलवायु सम्मेलन कोप-२६ मा पनि यस्तै स्क्रिनमा देखिने छन्।
जि-२० राष्ट्रका नेताहरु मध्ये सि मात्र यस्ता नेता हुन् जो कोभिड-१९ पछि आफ्नो देश बाहिर कदम राखेका छैनन्।
चीनले अझै पनि कोभिड-१९ सम्बन्धी कडा प्रतिवन्धहरु लागु गरिरहेको छ। चीन प्रवेश गर्ने जो कोही पनि अझै पनि २१ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान छ। चीनले अन्तर्राष्ट्रिय यात्रुहरुलाई लक्षित गरि पाँच हजार कक्षसहितको क्वारेन्टाइन सञ्चालन गरेको छ। जहाँ रोबर्टले खाना पुर्याउने गर्छ।
बेइजिङले आगामी फेब्रुअरीमा बेइजिङ विन्टर ओलम्पिकको आयोजना गर्दै छ। यो ओलम्पिक ‘बबल’मा आयोजना हुनेछ। यसक्रममा खेलाडीहरुलाई बाहिर निस्किन दिइने छैन। निस्किन चाहनेले २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ।
सि पनि आफ्नो ‘बबल’मा फसेको भन्दै सिड्नी मर्निङ हेरार्ल्डले अक्टोवर १३ मा समाचार प्रकाशित गरेको छ। कोभिड-१९ पछि सिले विदेश भ्रमण नगर्नुको कारण कोभिड-१९ रहेको समाचारमा उल्लेख छ।
अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि चिनियाँ राष्ट्रपति सि र बाइडेनबिच प्रत्यक्ष भेटसमेत भएको छैन। सि-बाइडेन भेट हुने अपेक्षा गरिएको जि-२० सम्मेलनमा चिनियाँ राष्ट्रपतिले विशेष दुतको रुपमा स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी पुगे। उनी पछिल्लो समय दोहा, इरानलगायतका देशको भ्रमणपछि रोम पुगेका थिए।
अमेरिकामा बाइडेन सत्तामा आएको १० महिना पुग्नै लाग्दा पनि विश्वका दुई ठूला नेताहरुको प्रत्यक्ष भेट हुन सकेको छैन। यसले दुई देशबीच रहेको विवाद समाधानका लागि ठोस पहल हुन सकेको छैन।
यद्यपी नोभेम्वरमा दुबै नेताहरु भर्चुअल कन्फ्रेन्समा जुट्ने छन्। त्यसका लागि ह्वाइट हाउसका अधिकारीहरुले तयारीलाई तिब्र पारेको रोयटर्सले जनाएको छ।