काठमाडौं : काठमाडौं महानगरबासीले अब घर बसीबसी नगरपालिकालाई सम्पूर्ण कर तिर्न सक्ने भएका छन्। अनलाइन भुक्तानी प्लाटफर्म इसेवाबाटै महानगरपालिकालाई कर भुक्तानी गर्न सकिने भएको हो।
यसका लागि काठमाडौं महानगरपालिका र इसेवाबीच आइतबार सम्झौता भएको छ। यससँगै अबदेखि काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर इसेवाबाट सजिलै भुक्तानी गर्न सकिने विज्ञप्तीमा उल्लेख छ।
इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन्। इसेवा एकाउन्ट नभएका व्यक्तिले पनि नजिकै रहेका इसेवा जोन तथा प्वाइन्टमार्फत कर भुक्तानी गर्न सक्नेछन्।
स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने महानगर र इसेवा दुवैको अपेक्षा छ।
यस्तो छ प्रक्रिया
इसेवाबाट भुक्तानी सहजताका लागि महानगरबासीले सुरूमा वडा कार्यालयमा आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ। त्यसपछि इसेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ। यसबाहेक काठमाडौं महानगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड राखेर इसेवाबाट कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ।
यसअघि कीर्तिपुर, गोकर्णेश्वर, बनेपा, बासगढी, बर्दघाट, बेलौरी, धनगढीमाई, धुलिखेल, गोदावरी, कावासोती, मध्यविन्दु, नमोबुद्ध, पुनर्वास, तिलोत्तमा र सुन्दरहरैँचा गरी १४ नगरपालिका; इटहरी, बुटवल, हेटौंडा र धरान उपमहानगरपालिका; विराटनगर महानगरपालिका लगायतले पनि इसेवाबाट कर तथा राजस्व भुक्तानी गर्न सकिने सुविधा संचालनमा ल्याएका थिए।
यस्तै, विष्णुपुर, छथर जोरपाटी, केराबारी, थुलुङ दुधकोशी लगायतका गाउँपालिकामा पनि इसेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने भइसकेको छ ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्षरूपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको दाबी कम्पनीले गरेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको भनाइ कम्पनीको छ। इसेवाका हाल देशभर करिब एक लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् भने मर्चेन्टको संख्या तीन लाख नाघिसकेको बताइएको छ। यस्तै, यसमा ५० वटा बैंक तथा वित्तीय संस्था सदस्यका रुपमा आवद्ध छन्।
