तालिवानका सर्वोच्च नेता हइवातुल्लाह अखुन्डजाडा पहिलो पटक सार्वजनिक रुपमा उपस्थित भएका छन्। आइतवार त्यहाँका अधिकारीहरुले हइवातुल्लाह पहिलो पटक कान्दहार शहरमा सार्वजनिक भएको बताएका हुन्।
सन् २०१६ मा तालिवानको नेतृत्व सम्हाले यता उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भई समर्थकहरुलाई सम्बोधन गरेको पाकिस्तानी समाचार संस्था डन न्यूजले जनाएको छ।
गत अगस्टमा तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनलाई अफगानिस्तानको भावि राष्ट्र प्रमुखको रुपमा हेरिएको थियो। यद्यपि, उनलाई सार्वजनिक रुपमा राष्ट्रपति पद नदिए पनि उनी अघोषित प्रमुखको रुपमा रहँदै आएका छन्।
तालिवानले सत्ता कब्जा गरेपछि उनको भूमिकाको विषयमा अनेक हल्ला चल्दै आएका थिए। साथै उनको मृत्युको हल्ला पनि चलेको थियो।
शनिवार भने उनी दारुल उलुम हाकिम्ह मदर्सामा उपस्थित भएर त्यहाँका सेनाका अधिकारी तथा समर्थकहरुलाई सम्बोधन गरेको तालिवान अधिकारीले जनाएको समाचारमा उल्लेख छ।
सो कार्यक्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने फोटो तथा भिडियो खिच्न निषेध गरिएको थियो। यद्यपि, उनले सम्बोधन गरेको १० मिनेटको अडियो रेकर्ड तालिवान समर्थित सामाजिक सञ्जालका अकाउन्टहरुमा सार्वजिनक भएका छन्।
सो अडियोमा हइवातुल्लाहलाई अमिरुल मोमिनिन अथवा कमाण्डरको रुपमा चर्चा गरिएको छ। उनको सम्बोधनमा उनले राजनीतिक कुरा गरेका छैनन्। तर, तालिवान नेतृत्वलाई आशिर्वाद दिन अल्लाहसँग गुहार लगाएका छन्।
उनले तालिवान युद्धका क्रममा शहीदहरू, घाइतेको स्वास्थ्यलाभ तथा तालिवान नेतृत्वको नयाँ सरकारको सफलताका लागि प्रार्थनासमेत गरेका छन्।