PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

तिहार नजिकिएसँगै युट्युबमा छाए ‘देउसी भैलो’ गीत, कस्ता छन् तिहार विशेष नयाँ गीतहरु?



लक्ष्मी बलायर

तिहार नजिकिएसँगै युट्युबमा छाए ‘देउसी भैलो’ गीत, कस्ता छन् तिहार विशेष नयाँ गीतहरु?

काठमाडौं : हिन्दुहरुको महान चाड तिहार नजिकिँदै छ। दशैँपछि नै तिहारविशेष गीतहरु आउने क्रम बढ्दो छ। तिहारलाई लक्षित गर्दै देउसी भैलोसँग सम्बन्धित नयाँ-नयाँ गीत सार्वजनिक भइरहेका छन्।

तिहारकै अवसरमा दुई साताअघि पशुपति शर्माको ‘देउसी भैलो’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा युवादेखि बच्चासम्म देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाउनुपर्छ भन्ने देखाउन खोजिएको छ। जसकारण पनि गीतलाई युट्युबमा रुचाइएको छ।

दुर्गा पौडेलले लेखेको गीतमा पशुपति शर्मा, शान्ति श्री परियार र सुप्रिम मल्ल ठकुरीको स्वर सुन्न सकिन्छ। साथै, गीतमा दुर्गा पौडेलले नै संगीत भरेका छन्।

दुर्गा पौडेलको नै निर्देशन रहेको गीतको भिडियोमा पशुपति शर्मा, अन्जली अधिकारी र सुप्रिम मल्लको अभिनय देख्न सकिन्छ। यो समाचार तयार गर्दासम्म गीतलाई ८ लाख ९७ हजार बढीले हेरिसकेका छन्।

 

देउसी भैलो ‘रमाइलो तिहार’ बोलको गीत पनि सार्वजनिक भएको छ। यो गीतमा तिहारमा खेलिने देउसी भैलोलाई देखाइएको छ।

गीतमा नेत्र अर्यालको शब्द र संगीत रहेको छ। गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन्। गीतमा खुमन अधिकारी, चन्द्र शर्मा र सम्झना भण्डारीको स्वर सुन्न सकिन्छ।

काजिश श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा लोमास शर्मा, सुस्मिता सापकोटा, सन्तोषी पौडेल र ध्रुब पोखरेलको अभिनय रहेको छ। गीतलाई युट्युबमा ३ लाख ४७ हजार पटक हेरिएको छ।

 

गायिका एलिना चौहानको ‘मेरो प्यारो भाई मेरो प्यारो दाई’ गीत रिलिज भएको छ। एलिना चौहान युट्युब पेजमार्फत यो गीत रिलिज गरिएको हो। गीतमा दाजुभाई नहुँदाको पिडा देख्न सकिन्छ। तर, अन्त्यमा दिदीबहिनी नै एकअर्कालाई टीका र माला लगाएर तिहार मनाइरहेको देखाउन खोजिएको छ।

लेखु सहयात्रीको शब्द र संगीत रहेको गीतमा एलिना चौहानले स्वर भरेकी छिन्। विक्रम चौहानको निर्देशन रहेको भिडियोमा एलिनाका साथै स्मारिका/समारिका ढकाल, प्रतिक सुनुवार र सुगम श्रेष्ठको अभिनय रहेको छ। यस गीतलाई युट्युबमा ५ लाख ४१ हजार भन्दा बढी भ्युज मिलेको छ।

 

दुर्गेश थापाले पनि ‘देउसी भैलो रमाइलो यता छ’ बोलको गीत ल्याएका छन्। तिहार विशेष रमाइलो गीतमा दुर्गेश थापा र उषा दशौटीको स्वर सुन्न सकिन्छ।

गीतमा शब्द, संगीत र एरेन्ज महेश विक्रम पाण्डेयको रहेको छ। यो गीतलाई युट्युबमा ४ लाख ८७ हजार बढीले हेरेका छन्।

 

तिहारकै छेको पारेर ‘सप्तरङ्गी भाइटिका-२’ बोलको गीत पनि सार्वजनिक छ। गीतमा विदेशिनुको पीडा र तिहारमा विदेशिका दाजुभाइलाई घर बोलाइएको देखाइएको छ।

विजय तामाङले गीतको शब्द लेखेका हुन् भने प्रयास दोङले संगीत भरेका छन्। गीतमा रचना रिमाल, प्रताप दास, विशाल कल्तन र सुमिना लोको स्वर सुन्न सकिन्छ।

हालसम्म गीतलाई युट्युबमा १ लाख ५६ हजार भन्दा बढी पटक हेरिएको छ।

 

रेशम सापकोटाको ‘मुगलानीको तिहार’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा विदेशमा रहेका नेपालीहरुले तिहारमा घर जान नपाउँदा विदेशमै देउसी भैलो खेलेर आफ्नो देशलाई सम्झिएको देख्न सकिन्छ।

रेशम सापकोटाको शब्द र संगीत रहेको गीतमा रेशमका साथै देवी घर्तीको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा रेशम सापकोटा, पवित्रा रिजाल, सुशिला थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

यो गीतलाई युट्युबमा ३ लाख ६० हजार पटक हेरिएको छ।

 

त्यसैगरी, विष्णु खत्रीको ‘शङ्कर ध्वनि देउसी भैलो धमाका’ बोलको गीत बजारमा आएको छ। दुई दिनअघि रिलिज भएको यो गीत युट्युब ट्रेन्डिङको १५ औँ स्थानमा छ। यो गीतलाई युट्युबमा १ लाख ९५ हजार बढीले हेरिसकेका छन्।

विष्णु खत्रीले कम्पोज गरेको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका हुन्। यो गीतमा विष्णु केसीका साथै देवी घर्ती, बद्री पंगेनी, जुनु शिरिष, शर्मिला गुरुङ, विमल राज क्षेत्री, राजु परिवार र टिका पुनले स्वर भरेका छन्।

काजिस श्रेष्ठको निर्देशन रहेको भिडियोमा रामजी खाड, करिश्मा ढकाल र लोमास शर्मा लगायतको अभिनय देख्न सकिन्छ।

 

गायक खेम सेन्चुरीको तिहार विशेष ‘राजाको दरबार’ गीत पनि सार्वजनिक भएको छ। एक साताअघि रिलिज भएको गीतलाई युट्युबमा २ लाख ९३ हजारले हेरेका छन्।

नेत्र अर्यालले लेखेको गीतमा खेम सेन्चुरीले संगीत भरेका छन्। गीतमा खेम सेन्चुरी र जानुका तामाङले स्वर भरेका छन्।

गीतको भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन्। गीतको भिडियोमा राम चन्द्र अधिकारी, यम गुरुङ, रिना थापा मगर र बबिन सिंह ठकुरीको अभिनय देख्न सकिन्छ।

 

त्यसैगरी, गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियारले ‘भैलो खेल्न’ बोलको गीत ल्याएका छन्। नन्दराम परियारले लेखेको गीतमा खुमन अधिकार र शान्ती श्री परियारको स्वर सुन्न सकिन्छ। साथै, गीतमा संगीत भने विष्णु न्यौपानेले भरेका हुन्।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा ध्रुब हिमाली, रुबिना अधिकारी, साजन श्रेष्ठ र दिपाशा बिसीको अभिनय देख्न सकिन्छ। दुई साताअघि रिलिज भएको गीतलाई युट्युबमा १ लाख ३० हजारले हेरेका छन्।

 

त्यसैगरी, सञ्चारकर्मी तथा गायिका अनिता चलाउनेको ‘भैलेनी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा तिहारमा देउसी भैलो खेलेर रमाइलो गरिरहेको देखाइएको छ।

यस गीतमा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत रहेको छ। गीतमा अनिता चलाउनेका साथै रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, एन्जिला रेग्मी, मेलिना मैनाली, बुद्ध लामा, रवि ओड, चक्र बम, योगेश काजी र श्रीकृष्ण बम मल्लको स्वर सुन्न सकिन्छ।

मौषम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका/ समारिका ढकाल र अरोना मल्लको अभिनय छ। हिजो रिलिज भएको गीतलाई ३० हजार बढीले हेरेका छन्।

 

बुढासुब्बा डिजिटलबाट आज मात्रै राज लावतीको ‘तिहारको रमझम बालापन’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बाल्यकालमा देउसी भैलो खेल्न गएको स्मरण गरिएको छ।

गीतमा शब्द, संगीत र स्वर राज लावतीको नै रहेको छ।

 

तिहार विशेष ‘आगँनमा भैलेनी’ बोलको गीत सार्वजनिक भएको छ। गीतको लय विष्णु न्यौपानेले लेखेका हुन् भने शब्द नन्दराम परियारको रहेको छ।

खुमन अधिकारी र समीक्षा अधिकारीको स्वर रहेको गीतलाई युट्युबमा ६२ हजार बढी दर्शकले हेरिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell