PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

अफगानिस्तानसँग नामिबिया पराजित



पहिलोपोस्ट

अफगानिस्तानसँग नामिबिया पराजित
Photo: Getty

आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा नामिबिया अफगानिस्तानसँग पराजित भएको छ। जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानले ६२ रनको सहज जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रन बनाएको थियो। १६१ रनको लक्ष्य पछ्याएको नामिबिया ९८ रनमा समेटियो।

सुरुवाती ब्याटिङमा उत्रिएको अफगानिस्तानका लागि मोहम्मद सहजादले सर्वाधिक ४५ रन बनाउँदा हज्रातुल्ला जाजइले ३३ रन बनाए। त्यस्तै कप्तान मोहम्मद नाबीले आक्रामक ब्याटिङ गर्दै १७ बलमा पाँच चौका र १ छक्काको सहायतामा ३२ रन जोडे। त्यसबाहेक अस्गर अफगानको ३१ रन महत्वपूर्ण रह्यो।

बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पेलमेन र जान निकोलले समान २ विकेट लिँदा जेजे स्मिटले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नामिबियाको ब्याटिङ टिक्न सकेन। नामिबियाका लागि डेभिड विसले सर्वाधिक २६ रन बनाउँदा जान निकोलले १४ र कप्तान गेरहाड इरास्मसले १२ रन जोडे।

नामिबियालाई सस्तैमा समेट्न नबिन उल-हक र हमिद हसनले समान ३ विकेट लिँदा गुलबदिन नाइबले २ विकेट र रासिद खानले १ विकेट लिए।

जारी प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो जित हो भने नामिबियाको पहिलो हार हो। जितसँगै अफगानिस्तान ४ अंक जोडेर समूह 'बी' को तालिकाको दोस्रो स्थानमा छ। समूह बी मा अफगानिस्तान, पाकिस्तान, भारत, न्युजिल्याण्ड, नामिबिया र स्कटल्याण्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell